चितवन । चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटको कुटीहरूमा रहेका ज्येष्ठ नागरिक र बालिकाहरूलाई नगद तथा खाद्य सामाग्री सहयोग गरेको छ ।
क्याटले भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटस्थित श्री रामजानकी बालिका आश्रम, कन्या गुरुकुल र तनहुँ तर्फ कुटीमा बस्दै आएका ४० जना ज्येष्ठ नागरिकलाई सहयोग गरेको हो। आश्रमलाई शुद्ध खानेपानीको लागि युरो गार्ड जडान खर्च बापत ५० हजार र कुटीका ज्येष्ठ नागरिकलाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
सो कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा कुटीमा जीवन बिताई रहेका वृद्धाहरूलाई सहयोग गर्नु मानवीय कार्यको उत्कृष्ट उदाहरण भएको बताउनुभयो । क्याट बेल्जियमका उपाध्यक्ष ईश्वरीप्रसाद कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्दिरा आश्रमका महन्त ईश्वरानन्द सरस्वती, क्याट बेल्जियमका पूर्व सचिव विश्वराज अर्याल लगायतले बोल्नुभएको थियो । आगामी दिनहरूमा पनि संस्थाले देवघाटमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याट बेल्जियमले यसअघि पनि देवघाटसँगै चितवनका विभिन्न पिछडिएका समुदाय र क्षेत्रमा सहयोग गर्दै आएको चितवन सहायता समाजकी सचिव सिर्जना अर्यालले बताउनु भयो ।
प्रतिक्रिया