
बर्दिबास । बर्दिबास मेडिकल कलेज निर्माणमा देखिएको समस्या समाधानका लागि महोत्तरीका सरोकारवालाहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको नेतृत्वमा बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारादेवी महतो, पूर्व मेयर विदुरकुमार कार्की लगायत सबै पार्टीका प्रतिनिधि तथा सङ्घसंस्थाले तोकिएकै स्थानमा मेडिकल कलेज निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
वन विनाश गरेर कलेज निर्माण गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा गत फागुन १८ गते अदालतले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणको काम रोकिएको थियो ।
हैसियत मासिएको जङ्गलको जग्गामा मेडिकल कलेज निर्माण गर्न सबै प्रक्रिया पुरा भइसकेको अवस्थामा विगत ५ महिनादेखि सर्वोच्चको अन्तरिम आदेशले काम ठप्प छ । बर्दिबासको भब्सी खोलाको पश्चिममा रहेको माइस्थान सामुदायिक वनको भित्रको हैसियत मासिएको वनको जग्गामा मधेश प्रदेशको पहिलो मेडिकल कलेज निर्माणका लागि काम प्रारम्भिक चरणको सबै काम अन्तिम चरणमा पुगेको थियो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यको २२४ मा एक प्रदेश एक मेडिकल कलेज निर्माण गर्ने अवधारणा अन्तर्गत बर्दिबासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यान्वयनमा रहेको अवस्था छ ।
आयोजनाले बर्दिबासमा एक हजार शैय्याको अस्पताल निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने र प्रतिभावान एवम् विपन्न नागरिकले चिकित्सक तथा नर्सिङ चिकित्सा शिक्षा प्राप्त गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने समेत लक्ष्य लिएको छ ।
वातावरणीय प्रभाव मुल्याङकन गरी कलेज निर्माणका लागि डीपीआर समेत निर्माण गरी शिक्षा मन्त्रालयबाट स्वीकृत भइसेको छ ।
मेडिकल कलेज निर्माणमा करिब दश करोड खर्च समेत भई सकेको आयोजना प्रमुख देवी प्रसाद सुवेदीले बताउनुभयो ।
वनको जग्गा भोगाधिकारका लागि डिभिजन वन कार्यालय महोत्तरीको राय सहित एक वर्ष अघि वन मन्त्रालय पठाइएको थियो । तर, वन मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त फाइल लगेको छैन ।
सार्वजनिक सरोकारको विवाद अन्तर्गत धनुषाको मिथिला बिहारी नगरपालिकाका देव नारायण मण्डलले बर्दिबास मेडिकल निर्माण रोकाउन सर्वोच्चमा रिट हाल्नु भएको थियो । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइको क्रममा २०७८ फागुन १८ गते सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका वन सम्पदालाई असर पर्ने गरी कुनै कार्य नगर्नु, रुख बिरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु र सो वन क्षेत्रलाई यथास्थितिमा संरक्षित राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।
मण्डल मिथिला वल्ड लाइफ ट्रष्टका अध्यक्ष हुनुहुन्छ । उहाँले वन, जीवजन्तुको संरक्षणमा चासो राख्दै आइरहनुभएको छ ।
अदालतबाट अन्तरिम आदेश जारी भई निर्माणको सम्पूर्ण काम रोकिएसँगै सरोकारवालाहरू कतै मेडिकल कलेज निर्माण कार्य सधैका लागि अनिश्चित हुने हो की भन्ने चिन्तामा छन् ।
प्रतिक्रिया