
पर्सा । कर्मचारी माथि जनप्रतिनिधिको श्रीमान्ले दुर्व्यवहार गरेको विषयमा बिहीबार कर्मचारीहरूले जिल्ला प्रशासनको कार्यालय पर्साको मुलगेटमा प्रदर्शन गरेका छन् ।
पर्साको धोबीनी गाउँपालिकामा माघ १३ गते योजना शाखा प्रमुख पप्पु पटेललाई वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी सहित स्थानीयले गाली गलौज सहित धम्की दिँदै २ घण्टा सम्म कोठा भित्र थुनेर दुर्व्यवहार गरेका थिए ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु साहले धर्मन राउत कुर्मीले श्रीमतीको नाममा सही सनाखत गर्दै गरेको जसलाई रोकिएको र त्यो निहुँमा उत्तेजित भएको बताउनुभयो । धर्मन राउत कुर्मीले भनेको ठेकेदार सँग काम गर्नु पर्ने दबाब दिएको तर नमान्दा कर्मचारी माथि आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत साहको भनाई छ ।
शान्ति सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउँदा समेत दोषी उपर कार्य नभएको भन्दै बिहीबार दुई घण्टा धर्ना सहित प्रदर्शन गरिएको निजामती कर्मचारी सङ्गठन पर्सा जिल्ला अध्यक्ष अमित कुमार गिरीले जानकारी दिनुभयो ।
उहाँले दोषीलाई कारबाही नभए आन्दोलनको कार्यक्रम थप सार्वजनिक गर्ने जानकारी दिनुभयो । राष्ट्र सेवक कर्मचारीको मनोबल कम हुने र यसले नियमित काममा पनि प्रभाव पर्ने उनको भनाई छ ।
प्रतिक्रिया