जनकपुरधाम। धनुषाको सबैलाका किसान श्यामदेव यादवलाई यसपटक धानखेतीका समयमा सिँचाइको खासै समस्या भएन ।
विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उहाँलाई यस वर्ष धेरै वर्षा नभए पनि धानखेतीका लागि चाहिने सिँचाइका लागि समस्या भएन । किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पु¥याएपछि किसान यादवले बर्सेनि धानबाली लगाउने बेलामा भोग्दै आएको सिँचाइको समस्याबाट छुटकारा पाउनुभएको छ ।
“अघिल्लो वर्षहरुमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याइयो ।” पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन उहाँको भनाइ थियो । विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताउनुभयो ।
“सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “तर यसपालि कुलोमा पानी आएपछि सहजरुपमा सिँचाइ गर्न पाएँ ।” अब सायद हामीलाई सिँचाइ गर्न पानीको खासै समस्या हुँदैन होला, उहाँको विश्वास छ ।
“केही वर्षअघि सम्म गाउँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए”, उहाँले भन्नुभयो, “यसका कारण समयमा वर्षाको भएको वर्षमा राम्रो धान खेती हुन्थ्यो, वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो”, “तर पूर्वी नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ ।”उहाँले भन्नुभयो ।
विगतका वर्षहरुमा वर्षा नहँुदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो ।
सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धनुषा र सिरहातर्फ करिब छ किलोमिटर पक्की नहर निर्माण गरेको छ । सो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो ।
यस्तै सो अवधिमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
प्रमुख यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै विष्णुपुरस्थित हनुमान चोकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनाबती खोलामा दुई वटा हेडवक (पक्की बाँध) समेत निर्माण गरिएको छ ।
कमला सिँचाइ पश्चिमी नहर प्रणालीअन्तर्गत धनुषाको पूर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिँचाइ प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाइ छ । सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलोमिटर नहरमा सरसफाइ गरिएको छ । आव २०७८/७९ मा छ सय आठ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको उहाँले बताउनुभयो ।
सो कार्यालयद्वारा निर्माण गरिएको सिँचाइ संरचनाका कारण आव २०७८/७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब एक हजार छ सय ९५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवले जानकारी दिनुभयो । कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदैआएको जनाएको छ ।
प्रतिक्रिया