
वीरगंज । पर्सामा बालबालिकाहरूका लागि ७८ हजार डोज मोर्डना खोप आइपुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले सोमबार ७८ हजार डोज मोर्डना खोप आई पुगेको जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्लाहरूमा विद्यार्थीहरूका लागि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भइरहँदा पर्सामा भने विद्यार्थीहरू खोप लगाउनबाट वञ्चित भएका थिए । समयमा खोप उपलब्ध नभएको कारण खोप अभियानमा ढिलाइ भएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले बताउनुभयो ।
पर्सामा अब आउँदो आइतबारदेखि खोप दिने योजना रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अभियान सञ्चालन गरी जानकारी दिनुभयो ।
यता सरकारले माघ १६ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रुपमा खोप लगाउनका लागि विद्यालय खोल्न अनुमति दिएकोमा वीरगंज तथा पर्साका निजी विद्यालयका सञ्चालकहरूले भने कोरोनाको प्रवाह नगरी परीक्षाको तयारी गरेका छन् ।
माघ १६ गते देखि वीरगंज लगायत पर्सा जिल्लाका अधिकांश निजी विद्यालयहरूको पठन पाठन सुचारु रहेको छ ।
यस सम्बन्धमा नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठले पहिलो र दोस्रो लकडाउनमा कोरोनाका कारण विद्यार्थीहरूको पठन पाठनमा ठूलो क्षति भएको साथै वीरगंज महानगरपालिकाको समन्वयमा कोरोना सङ्क्रमणको दृष्टिकोणले वीरगंज ग्रिन जोन भएको हुँदा विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले विद्यालयमा खोप लगाउने विद्यार्थीको तथ्याङ्क निकाल्नका लागि पनि विद्यालय सञ्चालन गरिएको बताउनुभयो ।
प्रतिक्रिया