Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

ऋणले बिथोलेको बस्तीको कथा

बोल्दाबोल्दै उनी भावुक भए । केहीबेरको सन्नाटापछि उनले लामो सास फेर्दै भने, ‘हसिनाको मृत्यु भयो तर किस्ता तिरिरहेको छु । अहिलेसम्म जेनतेन २५ ...

बोल्दाबोल्दै उनी भावुक भए । केहीबेरको सन्नाटापछि उनले लामो सास फेर्दै भने, ‘हसिनाको मृत्यु भयो तर किस्ता तिरिरहेको छु । अहिलेसम्म जेनतेन २५ किस्ता तिरिसकें । अझै २५ किस्ता तिर्न बाँकी छ होला ।’

उनले अगाडि थपे, ‘तर अब तिर्ने कसरी ? कुनै उपाय छैन’, उनी निरुपाय देखिए ।

उनले सुनेका रहेछन्, अचेल मान्छेहरू ऋणको तनावले आत्महत्याको बाटो रोजेपछि ऋण मिनाहा हुन्छ । ‘मनकारीहरूले सहयोग गरेर थुप्रैको जीवन पनि बचाइदिएका छन् । तर हसिनाको मृत्यु भएपछि हामीले कुनै छुट पाएको छैन, न त कसैको सहयोग छ’ उनले भने, ‘हसिनाकै बाटो रोज्नुपर्ने मेरो पनि विवशता छ । तनावले घरीघरी आफ्नै दिमाग रिंगाइरहेको छ ।’

यो कुनै कागजी कथा होइन । सप्तरीको खडक नगरपालिका-९ का ४८ वर्षीय मोहम्मद अलिले भोगिरहेको जीवन हो । यो अलिको मात्र नभएर नेपाली समाजका हजारौं पात्रहरूको साझा कथा हो । मोहम्मद अलि त केवल प्रतिनिधिमूलक पात्र हुन् ।

भदौ ४ गते उनकी पत्नी हसिना खातुनको मृत्यु भयो । मृत्युको कारण थियो, १८ लाख ऋण । घरमा अभिभावकको भूमिका उनैले निभाइरहेकी थिइन् । परिवारमा कसैको रोजगारी थिएन । विदेशमा राम्रै कमाइ हुन्छ भनेर श्रीमान् अलि ऋण काढेर साउदी उडे । उनले १० वर्ष साउदीमा मजदुरी गरे । उनीहरूले दुईतले घर बनाए र बाँकी कमाइ परिवारको लालनपालन र दैनिक खर्चमै ठिक्क भयो ।

कान्छी छोरीको बिहे गर्नुथियो । हातमा पैसा थिएन । तीन छोरीको जेनतेन बिहेबारी गरिसकेका थिए । मुस्लिम समुदायमा दाइजोको चलन छैन । तर अचेल फेसनको रूपमा सुटुक्क भए पनि दाइजो दिने अभ्यास संस्कृति नै बनेको छ । बिहे खर्चको लागि गाउँकै एक महाजनसँग जमिन पास गरेर तीन रुपैयाँ ब्याजदरमा ११ लाख ऋण लिए । गाउँघरको महाजनसँग लिएको ऋणको चर्को ब्याजदरले दिनानुदिन हसिनाको निदहराम हुन थाल्यो । ऋण तिर्न कुनै कमाइ हुने काम थिएन ।

राजेश विद्रोही

साहुको ऋण घटाउन बैंकबाट अर्को जमिन राखेर चार लाख पचास हजार पुनः ऋण लिइन् । चार लाख महाजनलाई तिरेर ऋण त घटाइन्, तर बैंकमा किस्ता कसरी तिर्ने ? एउटा ऋणको खाल्डो पुर्न अर्को ऋणको खाल्डो खनिन् । यता तनावको खाडल झनै बढिरहेको थियो । यतिसम्म कि नातागोता, छरछिमेक सबैतिर ऋण नै ऋण भइसकेको थियो ।

हसिना कुनै दीर्घ रोगी थिइनन् । खेतीपातीको समय थियो । दिनको तीन बजेतिर एक्कासी हसिनालाई टाउको दुख्यो । त्यसपछि उनी ढलिन् । १७ दिन अस्पतालमा भर्ना गरेरै उपचार भयो, तर उनी बाँचिनन् ।

हसिनाले नै लिएको ऋण थियो । हसिनाको मृत्युपछि बैंकको ऋणमा केही मिनाहा हुन्छ कि भनेर उनले अप्रत्यक्ष रूपमा बुझे । जब ऋण सहुलियत नहुने र ऋणीको परिवारलाई ऋण चुक्ता गर्न पत्र आउने थाहा पाए, समस्या थप बल्झियो ।

अलिले हसिनाको मृत्यु भएको कुरा बैंकलाई थाहै दिएनन् । बैंकले ऋण तिर्न चिठी काट्ने र गाउँमा हल्ला हुने डरले उनी श्रीमतीको मृत्युको खबर बैंकलाई लुकाइरहेका छन् र ऋण सापटी गर्दै महिनाको ८ हजार किस्ता तिरिरहेका छन् । पाँच वर्षको किस्ताबन्दी छ । यसअघि महिनाको ७ हजार किस्ता बुझाउँथे । अहिले देशको आर्थिक अवस्था खस्किएपछि बैंक ब्याजदर बढेको छ ।

छोरा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । उसले कमाएको केही रकमले परिवारको दिनचर्या जेनतेन चलिरहेको छ । छोराको कमाइ पनि खस्केकोले हरेक महिना पैसा आउँदैन । किस्ता तिरे पारिवारिक खर्च पुग्दैन र पारिवारिक खर्च टारे किस्ता तिर्न सकिंदैन ।

यही आसपास लघुवित्तवालाहरूको अर्को कथा छ । निर्धन, जीवन विकास, स्वदेशी, मेरुडे, स्वावलम्बन, राष्ट्रिय लघुवित्त लगायत विभिन्न ठाउँबाट दर्जनौं लघुवित्त र सहकारीवालाहरू परिचालित छन् । लघुवित्तको ऋणले माघ २९ गते उषाकुमारी चौधरीले घरमै झुन्डिएर आत्महत्या गरिन् । जसको समाचार बाहिर आएको छैन । परिवारले लघुवित्तको ऋणकै कारण उनको मृत्यु भएको स्वीकार्न सकिरहेको छैन । प्रशासनको डर छ ।

भएको पुँजी पनि सीमित, सम्भ्रान्त वर्गको हातमा लुकेको छ । राजनीतिक अस्थिरता र अन्य कारणले मुलुकको अर्थतन्त्र डामाडोल बनेको छ । यसबाट सम्भ्रान्तहरू होइन, दीनदुःखी नागरिक नै प्रताडित बन्दै आएका छन्

४५ वर्षीया उषाले गाउँमै एउटा चियापसल चलाएर परिवारको गुजारा चलाइरहेकी थिइन् । कोभिडपछि परिवारमा आर्थिक समस्या बढ्यो । दुई छोरा र एक छोरीको पढाइको लागि उनले गाउँमै लघुवित्तबाट ऋण लिन संस्थामा महिला समूहमा बसिन् । चारवटा लघुवित्तसँग करिब पाँच लाख ऋण किस्तामा लिइन् । उषाका श्रीमान भोला भन्छन्, ‘हामीले दुःखसुख किस्ता तिरिरहेकै थियौं, तर किन यस्तो बाटो रोजिन्, थाहै भएन ।’

एउटा लघुवित्तलाई १५ दिनमा साढे दश हजार, अरू तीनवटा समूहमा साढे पाँच हजारको दरले महिनामा १६ हजार ५०० गरी करिब ३६ हजार तिर्दै आएका थिए । भोला थप्छन्, ‘म पनि घर बनाउने मिस्त्री हो । कमाएको पैसा दिएकै थिएँ । दिउँसो काम गरेर घर फर्किंदा घरभित्र झुन्डिएको अवस्थामा फेला पारें ।’

लघुवित्तको सदस्यले मृत्युपछि किस्ता तिर्नु नपर्ने बुझाइ छ भोलाको । तर यथार्थ के हो उनलाई थाहा छैन । ‘किस्ता तिर्नुपर्छ कि पर्दैन अहिले थाहा छैन’ उनी भन्छन्, ‘सुन्दैछु लघुवित्तमा ऋण लिएको व्यक्तिको मृत्यु हुँदा मिनाहा हुन्छ । किस्ता तिर्ने बेला आउँदैछ अनि थाहा हुन्छ ।’

उषासँगै लघुवित्तको समूहमा बसेकी वर्ष ५५ की शिला देवीले पनि १ लाख २० हजार ऋण लिए पनि हातमा १ लाख २ हजार मात्र पर्‍यो । अहिले उनको समूहमा बसेका कसैले पनि लघुवित्तको किस्ता तिर्न सकिरहेका छैनन् । लघुवित्तले किस्ता तिर्न निरन्तर दबाव दिइरहेको छ । तर तिर्ने कसरी कसैसँग जवाफ छैन ।

‘कहिल्यै अम्मलको (सुर्तीजन्य पदार्थ) प्रयोग नगर्ने म आजकल खैनी र बिंडी खाएर तनाव भुलिरहेकी छु’ शिला भन्छिन्, ‘बुढेसकालमा तनाव थपिएको छ ।’

गाउँघरमा ऋणको खाँचो हुनेहरूले लघुवित्तको नियम अनुसार १० देखि ५० जनाको महिला समूह गठन गर्नुपर्ने हुन्छ । ऋणको खाँचो बढी हुनेले अरू महिलालाई पनि सम्झाएर समूहमा ल्याउनुपर्छ । समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवाशुल्क गरेर १० हजार काट्छन् । ऋणीको हातमा ९० हजार पुग्छ । वर्षमा लघुवित्तलाई १ लाख ६० हजार बुझाउनुपर्छ । ६ हजार बचतमा बस्छ । किस्ता तिर्न आनाकानी गरे त्यही महिला समूह लगाएर घरमा भएको भाँडाकुँडा समेत सोरेर ल्याउन लगाउँछन् ।

लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् ।

गाउँघरमा महिला मात्र हुने र उनीहरूकै हातमा आर्थिक कारोबारको नेतृत्व हुने गर्छ । यही सामाजिक मनोविज्ञानलाई केन्द्रमा राखेर लघुवित्त सहकारीहरूले महिलालाई लक्षित गरी समूहमा ऋण लगानी गर्ने गरेका छन् ।

भुईं मान्छेको सेवामा पहुँच हुने गरी सरकारले आफ्नो हरेक नीति कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने हो । तर गरिबी निवारण गर्ने भन्दै सञ्चालित कार्यक्रमले गरिबलाई नै प्रताडित बनाइरहेको छ ।

अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा हुँदैन ।

धेरै महिलालाई त ऋण लिएको लघुवित्तको नाम समेत थाहा छैन । एक व्यक्तिले दर्जन बढी लघुवित्तको समूहमा बसेर पचास हजारदेखि लाखौं रुपैयाँ ऋण लिएका रहेछन् । लिएको ऋण उत्पादक क्षेत्रमा प्रयोग छैन । अनुत्पादक क्षेत्रमा प्रयोग बढेको छ ।

भएको पुँजी पनि सीमित, सम्भ्रान्त वर्गको हातमा लुकेको छ । राजनीतिक अस्थिरता र अन्य कारणले मुलुकको अर्थतन्त्र डामाडोल बनेको छ । यसबाट सम्भ्रान्तहरू होइन, दीनदुःखी नागरिक नै प्रताडित बन्दै आएका छन् ।

(आलेखमा उल्लिखित पात्रहरूको नाम र ठेगाना परिवर्तन गरिएको छ ।)


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content