कास्की । गण्डकी प्रदेश अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०७९) को उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।
प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले बागलुङकै निसीखोला गाउँपालिकामाथि ३–२ सेटको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । च्याम्पियन बनेको गलकोटले रु दुई लाख, शिल्ड, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको निसीखोलाले रु एक लाख २० हजार, मेडल र प्रमाणपत्र पायो ।
संविधान दिवसका अवसर पारेर कास्कीको माछापुच्छ्रे गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको संयुक्त आयोजनामा यही भदौ ३० गतेदेखि माछापुच्छ्रे–२ भुर्जुङखोलास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गर्दै रु ३० हजारका दरले नगद र मेडल पुरस्कार प्राप्त गरे ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर प्रशिक्षकलाई जनही रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घका सचिव मोहनसिङ तामाङले जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया