मनाङ। हिमाली जिल्ला मनाङमा पहिलो पटक नेपाल सरकार सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ । विभागले नेपाल पत्रकार महासङ्घ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो ।
घुम्ती शिविरमार्फत सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले विभागको टोलीले मनाङ पुगी तालिम सञ्चालन गरेको हो । शिविरमा पत्रकारलाई नयाँ परिचयपत्र तथा अनलाइन मिडियाको दर्ता र नवीकरण सेवासमेत दिइएको सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
जिल्लाका पत्रकारका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम गर्ने विभागले उल्लेख गरेको छ । दुवै कार्यक्रमका लागि सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल, प्रशिक्षक पत्रकार तुलाराज अधिकारी र विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीलगायतका प्राविधिक टोली आइतबार मनाङ आइपुगेको हो ।
टोलीले राज्यले सञ्चारकर्मीहरुको सेवा सुविधाका लागि विभिन्न कार्यक्रममार्फत सहजरूपमा पहुँच पु¥याउन दुर्गम क्षेत्रमा शिविर सञ्चालन गरिएको हमालले बताउनुभयो । उहाँका अनुसार दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिममा जिल्लामा कार्यरत पत्रकारको सहभागिता रहेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले दुर्गम क्षेत्रलाई प्राथमिकता दिएर पुनर्ताजगी दिने कार्यले प्रोत्साहित भएको महसुस गरेको बताउनुभयो । “ग्रामीण क्षेत्रमा सङ्घर्ष गरेर जीविका चलाउँदै आएका पत्रकारलाई विभागले घुम्ती शिविर राखेर सहज बनाएको छ । प्रोत्साहन पनि मिलेको छ”, आचार्यले भन्नुभयो ।
पत्रकार तुलाराज अधिकारीले तालिमको सहजीकरण गर्नुभएको थियो । पत्रकारका लागि घुम्ती शिविर सोमबार र मङ्गलबार सञ्चालन गरिएको छ । पत्रकारको क्षमता विकास तालिम बुधबारसम्म सञ्चालन हुने नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया