
जनकपुर । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् ।
जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् ।
मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना बषौँसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्त्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताउनुभयो ।
ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधीन मधेस सहिद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उहाँले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इन्जिनियर यादवको भनाइ छ ।
धार्मिक पर्यटकीय नगरीका रुपमा परिचित मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गर्नुभएको थियो । त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गर्नुभएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो ।
त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरूप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इन्जिनियर अमरकुमार साहले जानकारी दिनुभयो ।
ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाइ भएको इन्जिनियर साहले बताउनुभयो ।
”गेटको काम करिब करिब सकिएको छ”, उहाँले भन्नुभयो, ‘‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान् रामको प्रतिमा र तीन वटा पिलरमाथि शहीदहरूको प्रतिमा राख्न मात्र बाँकी छ ।” त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उहाँको भनाइ छ ।
३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीन वटा पिलरमा शहीदहरूको प्रतिमा र सिङ्गो द्वार धनुष आकृतिको बनाइएको छ ।
सो गेटको दुवै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण शहीदहरूको प्रतिमाहरू बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उहाँले बताउनुभयो ।
जनकपुरधाम प्रवेश गर्ने मूल बाटोमा निर्माण भइरहेको धनुष आकारको गेटले नगर क्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ । आफू निर्वाचित भएदेखि नै नगरको मुहार फेर्ने अभियानमा लागेकाले यति छोटो अवधिमै जनताले विकासको अनुभूति गर्न थालेको उहाँको भनाइ छ ।
æचार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, नगरप्रमुख साहले भन्नुभयो, ‘‘४०÷५० किलोमिटर सडक बिस्तार, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वार्डहरूमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउन्ड नाला बनाएर पीसीसी ढलान गरेका छौ ।”
जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा ठूलो गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।
यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ ।
केही वर्षअघि सम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यति बेला कालोपत्रे भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरूप समेत फेरिएको छ ।
अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडकहरू यति बेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि यहाँको स्वरूप फेरिएको स्थानीयवासी बताउँछन् ।रासस
प्रतिक्रिया