
बीरगंज । उच्च अदालतको अस्थायी इजलास, बीरगंज र जिल्ला अदालत पर्साले आज छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर नियन्त्रणमा आएसँगै आगामी माघ २३ गतेबाट आफ्ना सम्पूर्ण सेवाहरू सुचारु गर्ने जनाएका छन् ।
उच्च अदालत वीरगंजको आज सम्पन्न फुलकोर्टको बैठकले माघ ६ गतेदेखि कोरोना सङ्क्रमणको तेस्रो लहरको कारण अदालतका न्यायाधीशदेखि कर्मचारीसम्म संक्रमित भएपछि माघ २१ गतेसम्म सङ्कुचन गरिएको सेवा प्रवाहलाई अहिले पछिल्लो दिनहरूमा संक्रमण न्यून भएसँगै माघ २३ गतेबाट स्वास्थ्य सतर्कता एवं सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अवलम्बन गरी पूर्ववत् रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको उच्च अदालत वीरगंजका रजिष्टार गजेन्द्र बहादुर सिंहद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी पर्सा जिल्ला अदालतले समेत सङ्कुचन गरेको सेवा २३ गते देखि सुचारु गर्ने जनाएको छ ।
पर्सा जिल्ला अदालतले कोरोना सङ्क्रमणबाट प्रभावित सेवालाई उच्च प्रार्थमिकतामा राखी साप्ताहिक पेशी सूचीमा मुद्दा समावेश गर्दा प्रत्येक दिन थुनुवा मुद्दा, १८ महिना नाघेका मुद्दा, बालबालिका भएका मुद्दा र प्रार्थमिकता प्राप्त मुद्दालाई अन्य मुद्दासँग अनुपात मिलाएर प्रत्येक फाँटले बढीमा १० थान मुद्दा पेसीमा समावेश गर्ने निर्णय गरेको छ ।
पर्सा जिल्ला अदालतद्वारा जारी सूचनामा सेवा प्रवाह गर्दा नियमित स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गराई सेवाग्राही तथा सरोकारवाला निकायलाई आवश्यक सहयोग गरिने कुरा समेत उल्लेख गरिएको छ ।
प्रतिक्रिया