
इस्लामावाद। पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का सह अध्यक्षसमेत रहनुभएका जर्दारी पछिल्ला केही हप्तादेखि विरामी नै रहनुभएको थियो । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।
उहाँलाई फोक्सोसम्बन्धी समस्या भएकाले परिक्षणको कार्य भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
उहाँलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो ।
पूर्व राष्ट्रपति जर्दारी यसअघि दुबई भ्रमणमा गएका बेला गत जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित हुुनुभएको थियो ।
उहाँलाई सन् २०२० मा गम्भीर विरामी भएर कराँचीकै एक निजी अस्पतालको अति सघन कक्षमा राखेर उपचार गराइएको थियो ।
उहाँलाई लामो समयदेखि छाती र रगतसम्बन्धी पनि समस्या देखिने गरेको छ ।एएनआई
प्रतिक्रिया