स्याङ्जा ।स्याङ्जामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । बुधबार साँझ पोखरीमा डुबेर गल्याङमा एक बालिका सहित २ जना र भीरकोटमा लडेर एक जना गरी ३ जनाको मृत्यु भएको हो । गल्याङ नपा ७ स्थित सिँचाई पोखरीमा डुबेर २ जनाको मृत्यु भएको हो ।
गल्याङ ७ पेलाकोटमा रहेको सिँचाइ पोखरीमा डुबेर ४ वर्षीय बालिका सोफीया गुरुङ र ३३ वर्षीय बिन्द्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ४ वर्षीय सोफीया गुरुङलाई पोखरीबाट उद्धार गर्न जाँदा ३३ वर्षीय बिन्द्रा गुरुङको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएका बिन्द्रा र सोफियालाई चिकित्सकले मृतक घोषणा गरेका हुन् । दुवैको सव पोष्टमार्टमका लागी अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको प्रनाउ खनालले जानकारी दिनुभयो ।
त्यस्तै भिरकोट नगरपालिका ३ रिजुमा धकेलेर लड्दा एक जनाको मृत्यु भएको छ । रिजुका ५० वर्षीय याम बहादुर रोकाले सोही ठाउँका ४५ वर्षीय श्याम बहादुर रोकालाई धकेल्दा लडेर घाइते हुनुभएको थियो । घाइते श्यामबहादुरको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । धकेल्ने व्यक्ति यामबादुरलाई आफ्नै घरबाट पक्राउ गरिएको धकेल्नुको करण नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया