
वीरगंज । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण पर्सामा निर्माणाधीन वीरगन्ज–ठोरी हुलाकी सडकको ठोरी खण्डको साढे ४ किलो मिटर सडक कालोपत्रे नहुँदा स्थानीय बासिन्दामा निराशा छाएको छ ।
पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाउँपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्का लिएका थिए । वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले लिएको थियो ।
वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा लिएको थियो । त्यो मध्ये कालीका बानिया जेभीले आफ्नो भागमा परेको ३० किलोमिटरमध्ये साढे २५ किलो मिटर सडक कालोपत्रे गरी गत बर्षको चैत्रमा सरकारलाई हस्तान्तरण गरेको थियो ।
उसको भागमा परेको बाँकी साढे चार किलोमिटर सडक ठोरी गाउँपालिकाको वडा नम्बर २ फारलाइनदेखि वडा नम्बर १ को चौतारासम्म चितवन राष्ट्रिय निकुञ्जले सडक वन क्षेत्रमा पर्ने बताउँदै अवरोध सृजना गरेपछि सडक निर्माण अलपत्र भएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले निकुञ्जको अवरोधका कारण ठोरीमा साढे चार किमी सडक कालोपत्रे हुन नसकी अलपत्र परेको बताउनुभयो ।
ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले निकुञ्जले सडकको सम्पूर्ण काम कारबाही अगाडी बढ्दा नरोक्ने तर कालोपत्रे गर्ने बेलामा रोकेर विकासमा अवरोध सृजना गरेको बताउनु भयो ।
सो खण्डको हुलाकी सडक निकुञ्जले जङ्गल भित्र पर्ने भन्दै दाबी गरे पनि ठोरीको मानव बस्ती र खेतबारी भएर हुलाकी सडक चितवनको माडी पुग्ने श्रेष्ठले बताउनु भयो । रोकिएको सडक निर्माणका लागि सरकारको ध्यान आकृष्ट गरार्ईएको र निकट भविष्यमै रोकिएको काम शुरु हुने आश्वासन आफूले पाएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया