
जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन पुनः ५ दिनपछि फागुन २० गतेबाट गर्ने निर्णय भएको छ ।
जनकपुरधामको स्थित पार्टी कार्यालय बी पी भवनमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिनु भएको छ । यस अघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए ।
मधेस प्रदेशका ८ जिल्ला सहित अधिवेशन हुन बाँकी रहेको अन्य ८ जिल्ला गरेर कूल १६ जिल्लाको अधिवेशन मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ गते हुन भनिएको जिल्ला अधिवेशन २० गतेको लागि सारिएको जानकारीसहित पत्र पार्टीको केन्द्रीय कार्यसमितिले पठाएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
केन्द्रले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न समय अनुकूल नमिलेका कारण जिल्ला कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन गर्न आफ्नै मिति तय गरेको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यहरु एमसीसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुहुने तथा १९ गते मिथिलाको महत्त्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमा प्रारम्भ हुने हुँदा जिल्ला अधिवेशन सारिएको नेपाली काँग्रेस धनुषाका सचिव यादवले जानकारी दिनुभयो ।
जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दाबी बिरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
जिल्लामा सभापति पदका लागि वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र पूर्व संविधानसभाका सदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लाग्नु भएको छ ।
प्रतिक्रिया