श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

कांग्रेस महाधिवेशनमा हुनुपर्ने बहसका विषय

955 SHARE:

देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली कांग्रेस यतिखेर १४औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा अघि बढ्दैछ । महाधिवेशनहरू पार्टीका नीति, सिद्धान्त, कार्यक्रममा बहस र छलफल चलाउने, तिनलाई परिष्कृत र परिमार्जन गरेर लैजाने, सांगठनिक स्वरूप र संरचनालाई समयानुकूल ढाल्दै लैजाने र योग्यतम नेतृत्व छनौट गर्ने स्वर्णिम अवसर हुन् । २०१२ सालमा वीरगञ्जमा भएको नेपाली कांग्रेसको महाधिवेशनले बीपीको नेतृत्वमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्याख्या गरेका दस्तावेजहरूलाई ऐतिहासिक रूपमा लिन सकिन्छ, जसले नेपाली कांग्रेसलाई आफ्नो लामो राजनीतिक मार्गचित्र तय गर्नलाई महत्वपूर्ण सैद्धान्तिक आधारशिला प्रदान गरेको थियो ।

अहिले यतिखेर नेपाली कांग्रेसले स्थानीय र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट भविष्यमा नै प्रदेश र संघीय तहको नेतृत्व छनौटको पनि छिनोफानो गर्दैछ । नेतृत्व छनौटको विषयले पार्टीभित्र र बाहिर पनि चर्चा पाइरहेको देखिन्छ भने लामो इतिहास बोकेको र पटक पटक देशमा शासनसत्ताको बागडोर समेत सम्हालेको नेपाली कांग्रेस पार्टीले महाधिवेशनको यस पूर्वसन्ध्यामा पार्टीका सिद्धान्त, नीति र कार्यक्रमहरूका बारेमा पर्याप्त बहस चलाउन भने त्यति जाँगर चलाएको जस्तो देखिएको छैन । वास्तवमा नेपाली कांग्रेस जस्तो पटकपटक सत्तामा पनि आसीन भइसकेको र आगामी दिनमा पनि सहज किसिमले सत्तामा पुग्न सक्ने क्षमता राख्ने राष्ट्रिय पार्टीले अंगीकार गर्ने नीति, कार्यक्रम र योजनाले समस्त मुलुक र देशवासीको भविष्यलाई लामो समयसम्म प्रभावित पार्नेछ ।

अनुत्तरित केही प्रश्न

प्रमुख राजनीतिक दलहरूको शक्ति सन्तुलनको रूपमा २०७२ सालमा नेपालले समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने उद्देश्य सहितको संविधान पाएको छ । यसमा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष सक्षम न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गर्ने कुरा स्वीकार गरिएको छ । यसका साथै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने तथा नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प पनि यस संविधानले गरेको छ । यस संविधानको सफल कार्यान्वयन गराउने, संवैधानिक व्यवस्था अनुसार नेपालीजनलाई सपना देख्न सिकाउने, देखेका सपनालाई पूरा गर्नका लागि लागि पर्नुपर्ने भनेका नेपालका राजनीतिक दलहरू नै हुन् ।

नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा प्रत्येक नेपालीको जीवन सुखमय बनाउने, प्रत्येक नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने र नेपाली हुँ भन्दा गर्वको अनुभूति गर्ने वातावरणको सिर्जना गर्दै समतामूलक समाजको निर्माण गर्ने तथा विश्व अर्थतन्त्रबाट लाभ लिन सक्ने, प्रतिस्पर्धामा जान सक्ने, अर्थतन्त्रको विकास गर्ने आफ्नो मूल उद्देश्य भएको कुरा उल्लेख गरेको छ । त्यसैगरी, प्रत्येक व्यक्तिमा रहेको क्षमतालाई उजागर हुनबाट रोक्ने अवरोधहरू हटाउने र शिक्षा तथा सीपको कमी, पूँजीमाथिको पहुँचमा कमी, बजार पहुँचको कमी, नीतिगत अवरोध, जातीय वा भौगोलिक विभेद, लैंगिक विभेद, शारीरिक क्षमताको कारणले हुने विभेद आदि अवरोधहरूको अन्त्य गर्ने मुख्य लक्ष्य राखेको छ ।

नेपाललाई विश्व समुदायको एउटा सक्षम र प्रतिष्ठित सदस्यको रूपमा स्थापित गर्ने र नेपाललाई स्वदेश र विदेशमा बस्ने सबै नेपालीले गौरव गर्ने राष्ट्रको रूपमा विकसित गर्न चाहना भएको कुरा पनि नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ । संविधानका मर्म, भावना र आकांक्षा, अनि चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धताहरूलाई कसरी कार्यान्वयन गर्ने र यथार्थमा परिणत गर्ने भन्ने चुनौती आज नेपाली कांग्रेसका सामुन्ने छ ।

१४औं महाधिवेशन सम्पन्न गर्न अगाडि बढिराखेको नेपाली कांग्रेसका सामुन्ने आज केही प्रश्नहरू उभिएका छन् । जस्तै, २०७२ सालमा देशले संघीयता सहितको नयाँ संविधान पाएर कार्यान्वयनमा गइसकेको परिवर्तित परिवेशमा नेपाली कांग्रेसको १४औं महाधिवेशनले आफ्नो विचार, नीति र कार्यक्रमहरूलाई समयानुकूल गतिशील बनाउँदै लैजान तिनको थप पुनर्व्याख्या, परिमार्जन वा संशोधन गर्न आवश्यक ठान्ला कि नठान्ला ? देशमा संघीयता सहितको लोकतान्त्तिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा मुलुकको राष्ट्रियतालाई थप मजबूत पार्ने आधार र प्रयत्नहरू कांग्रेससँग के के हुन सक्छन् ?

नेपाली कांग्रेसको सांगठनिक संरचनाले संघीय संरचना अनुकूल र अझ सुदृढ हुने स्वरूप र प्रकृति ग्रहण गरेको छ कि छैन ? संविधानमा व्यवस्था गरिएका थुप्रै मौलिक हकका बारेमा जनतालाई बुझाउन र तिनको कार्यान्वयन गर्न गराउन नेपाली कांग्रेसले के कस्तो भूमिका खेलिराखेको छ ? गतिशील संविधानमा निरन्तर सुधार र परिमार्जनको स्थान भने सदैव खुला रहिराख्ने भएकोले आगामी दिनमा संविधानलाई अझ बढी लोकतान्त्रिक बनाउन र समावेशितालाई थप समयोचित, न्यायपूर्ण र प्रगतिशील बनाउने बारेमा नेपाली कांग्रेसले कसरी सोचेको छ ?

संविधानले समानुपातिक प्रतिनिधित्व सहितको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि देशलाई राजनैतिक स्थायित्व दिन मिलिजुली राजनैतिक संस्कारको विकास गर्नैपर्ने बाध्यता सिर्जना भएको छ । नेपाली कांग्रेसले त्यस संस्कार र संस्कृतिको विकास के कसरी गर्ला ? लामो राजनैतिक संक्रमणकाल सकिएसँगै धेरैको मुखमा झुण्डिन थालेको छ– आर्थिक समृद्धि र समृद्ध नेपालको नारा, तर त्यसलाई साकार पार्नका लागि कांग्रेससँग के कस्ता आर्थिक, सामाजिक नीति र कार्यक्रमहरू छन् त ?

नेपाली कांग्रेसमा समृद्ध नेपालको कुरा गर्दा बीपीको सपना जोडिएर आउने गर्छ । बीपीले तत्कालीन समय अनुसार खानलाउन पुग्ने, घरमा एक दुधालु गाई र एक हलो गोरु भएको, ओखतीमुलो गर्न सक्ने र आफ्ना सन्तानलाई शिक्षादीक्षा दिन सक्ने औसत नेपाली परिवारको सपना देखेका थिए । बीपीले कुनै समय ग्रामीण क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि आत्मनिर्भर कृषि अर्थतन्त्रको कल्पना गरेतापनि कृषि पेशाबाट पलायन भएर शहर, विदेशतिर लाग्ने ग्रामीण युवाहरूको संख्या बढ्दो छ । यस्तो अवस्थामा हामीले कृषिको विविधीकरण र व्यवसायीकरणलाई कसरी अगाडि बढाउने ? २०४६ सालपछि नेपाली कांग्रेसले ती सपनाहरूलाई पछ्याउन र समयानुकूल परिष्कृत गर्दै लैजान के कस्ता चिन्तन र प्रयासहरूलाई अगाडि बढायो त ? आजको विश्वव्यापीकरणको युग, लाखौं युवा रोजगारीका लागि विदेश पलायन भएको र विप्रेषणले अर्थतन्त्र धानिराखेको अवस्थामा नेपाली कांग्रेसले देशको भावी अर्थतन्त्रको मार्गचित्र कसरी कोर्ने त ?

बीपीले दूरदराजमा बस्ने सर्वसाधारण नेपालीसम्म शिक्षा र स्वास्थ्यको पहुँच पुग्नुपर्ने कुराको परिकल्पना गरेका थिए । एकातिर देशका कुनाकुनासम्म शिक्षामा पहुँच पुर्‍याउनु आवश्यक छ भने अर्कातिर देशका आर्थिक विकासका आधारहरू पहिल्याएर त्यसै अनुकूल आवश्यक पर्ने व्यावसायिक, प्राविधिक शिक्षाको विस्तारमा देशभरि नै विस्तार गर्न पनि जरुरी छ । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउन सरकारी र निजी क्षेत्रको भूमिकालाई कसरी परिभाषित गर्ने ?

अब नेपाली कांग्रेसले बीपीको सपनाको जगमा टेकेर यसलाई थप गतिशील, परिमार्जित र समयानुकूल बनाउँदै लैजानुपर्ने वैचारिक बहसमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरू उत्रनुपर्ने होइन र ? समृद्ध नेपाल बनाउन कांग्रेसका प्राथमिकता क्षेत्रहरू के के हुन् त ? प्रत्येक वर्ष लाखौं नेपाली युवा रोजगारी बजारमा प्रवेश गर्दैगर्दा ऊनीहरूको श्रम, सीप र क्षमताको उपयोग गर्ने उपायहरू के के हुन् ? कृषि, पर्यटन, औद्योगिकीकरण, पूर्वाधार तथा अन्य सेवा क्षेत्रको विकास तथा विस्तारबाट मुलुकभित्र लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ तर त्यसका लागि विद्यमान नीतिगत व्यवस्था, प्रशासनिक संयन्त्र र प्रक्रियाहरू अनुकूल र लगानीमैत्री छन् कि छैनन् त ? यसका लागि कहाँ कहाँ के के सुधारहरू आवश्यक छन् ?

नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले विशेषगरी महाधिवेशनको पूर्वसन्ध्यामा यी विषयहरूमा चिन्तन मनन गर्ने, वैचारिक बहस चलाउने तत्परता र जाँगर देखाउनुपर्ने होइन र ? आशा गरौं, ऐतिहासिक नेपाली कांग्रेस पार्टीको नेतृत्वका दाबी गर्ने आदरणीय नेतागणबाट माथि उल्लिखित विषयहरूमा आ-आफ्ना विचार र दृष्टिकोणहरू सार्वजनिक गरेर सघन छलफल मार्फत पार्टीको नीति तय गर्दै देशको एक पुरानो र ठूलो पार्टीलाई नयाँ दिशाबोध दिने प्रयास गर्नु हुनेछ । आशा गरौं, नेपाली कांग्रेसको १४औं महाधिवेशनले यी तमाम प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गर्नेछ । सम्भवत: यी प्रश्नहरूको यथोचित उत्तरहरूले नेपाली कांग्रेसको भविष्यलाई मात्र मार्गनिर्देश गर्ने नभई, त्यसमा समस्त मुलुकको उज्वल भविष्यलाई समेत प्रभावित बनाउन सक्ने तागत भेटिनेछ ।

पार्टी सञ्चालनको समयानुकूल पद्धति

नेपाली कांग्रेससँग देशका थुप्रै राजनैतिक आन्दोलनलाई सफल बनाउन नेतृत्वदायी भूमिका खेलेको छ । त्यस पश्चातको शासन सञ्चालनमा भने आशातीत रूपमा जनताका अपेक्षा र गुनासोलाई सम्बोधन गर्न नसकेको यत्रतत्र सुन्न पाइन्छ । २०१५ सालमा बनेको नेपाली कांग्रेसको जननिर्वाचित सरकारले लगभग डेढ वर्षको शासन पश्चात् नै राजाको ‘कु’ को सामना गर्नु परेको थियो । पार्टीभित्रका अनेकौं विवादले गर्दा २०४८ साल पछि बनेका नेपाली कांग्रेसको सरकारहरूले पनि उर्लंदो जनअपेक्षा अनुरूप कार्यसम्पादन गर्न सकेका छैनन् । पटक पटक सफल आन्दोलनहरू गर्न सक्षम पार्टीले शासनसत्ता सञ्चालनमा भने अपेक्षित सफलता पाउन नसक्नुका कारण के के हुन् सक्लान् त ?

देशको शासनसत्ता राजनैतिक दलले चलाउने भएकोले दल आफैं कत्तिको संस्थागत ढंगले चलेको छ र दलको संस्थागत सुदृढीकरणमा के कति ध्यान दिइएको छ भन्ने कुरा महत्वपूर्ण देखिन्छ । नेपाली कांग्रेसले इतिहासका विभिन्न विषम परिस्थितिबाट गुज्रेर आफ्नो संगठन निर्माण गर्नु परेकोले त्यस समय, परिस्थिति अनुसारको र राजनैतिक मुद्दा तथा आन्दोलनका आधारमा तत्कालीन सांगठनिक संरचना बनाइएकोलाई जायजै मान्न सकिएला, तर लोकतन्त्रको खुला वातावरणमा भने संगठनलाई पनि परिवर्तित परिवेश अनुसार समयानुकूल बनाउँदै लैजानु आवश्यक देखिन्छ । हिजोका राजनैतिक संघर्षका कठिन दिनहरूमा पार्टीभित्रका आन्तरिक लोकतन्त्रका कतिपय कुराहरूमा सम्झौता हुनु जायजै मान्न सकिए पनि अहिलेको खुला वातावरणमा ती कमी–कमजोरीहरूलाई हटाउँदै लैजान, विविधतापूर्ण र जागरुक समाजसँग अझ प्रगाढ रूपमा जोडिन, आफ्ना मुद्दा र कार्यक्रमहरूलाई स्थापित गर्न तथा शासनसत्तामा रहँदा दलका घोषित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सोही अनुरूपको सांगठनिक चुस्तता, प्रभावकारिता र परिचालन पनि वाञ्छनीय देखिन्छ ।

पार्टीका कुनै ठूला नेताहरूलाई हामीले आदरसम्मान भाव व्यक्त गर्दै गर्दा पार्टीभित्र संस्थागत पद्धतिलाई प्रवर्धन गर्ने कुराहरू भने ओझेलमा पर्ने गरेको छ । पार्टीले अंगीकार गरेका कतिपय नीतिगत अडान र दृष्टिकोणहरू संस्थागत ढंगले हो वा कुनै नेताको लहडमा अभिव्यक्त भएको हो भन्ने द्विविधा पनि कहिलेकाहीं देखिने गर्छ । आगामी दिनहरूमा देश हाँक्नलाई नेपाली कांग्रेस कत्तिको सफल हुने भन्ने कुरामा यसको नेतृत्वले कसरी संस्थागत ढंगबाट पार्टीलाई संचालन गर्नेछ र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कसरी सुदृढ गर्दै अगाडि बढ्नेछ भन्ने कुराले पनि अहम् महत्व राख्नेछ । यद्यपि समाजका हरेक क्षेत्रमा व्यक्तिभन्दा संस्था ठूलो भन्ने मान्यता स्थापित गर्न अझ निकै संघर्ष गर्नुपर्ने चुनौती पनि हाम्रा सामुन्ने छ ।

आगामी दिनहरूमा राजनैतिक सवालको साथसाथै आर्थिक समृद्धिका विषयले पनि प्रधानता पाउनुपर्ने अवस्थामा राजनैतिक आन्दोलनका लागि बनाइएका पुराना किसिमका संगठनात्मक संरचनाहरू नवीन लक्ष्यप्राप्तिका लागि कत्तिको कामयावी हुन सक्छन् भन्ने प्रश्न आफ्नो ठाउँमा छ । सर्वसाधारणले लोकतन्त्र स्थापनाबाट प्राप्त खुलापन र स्वतन्त्रताको प्रतिफलहरूको रसास्वादन गर्न पाइसकेको र सूचना प्रविधि लगायतले बढाएको जागरुक समाजमा लोकतन्त्र प्रतिरक्षाका लागि प्रतिबद्ध नागरिकको बृहत् पंक्ति तयार भइसकेको छ । यस अवस्थामा विगतको फरक परिवेशमा गठन भएका भ्रातृ संगठनहरूको आवश्यकता, औचित्य, स्वरूप र भूमिकामा पनि हामीले पुनरावलोकन गर्नुपर्ने हो कि ? समाजका हरेक अंगमा भएको अति राजनीतीकरणले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका बाटोमा उल्टै तगाराको काम गरेको छ भनेर व्यापक रूपमा सुनिने गरेको गुनासोतर्फ पार्टीले ध्यान दिनु आवश्यक देखिन्छ ।

विगतमा लामो समयदेखि पार्टीका कतिपय भ्रातृ संगठनको नियमित अधिवेशन हुन नसकेको अवस्थामा पनि यस १४औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसप्रति युवाहरूमा देखिएको आकर्षणलाई समेत विचार गर्दा भ्रातृ संगठनहरूको औचित्य र विद्यमान भूमिकामा बहस हुनुपर्ने देखिन्छ । राजनीतिक संगठन हुनुको नाताले आवश्यकता अनुसार जनपरिचालनको पाटोलाई पक्कै बिर्सनुहुन्न, तर समाजका हरेक अंगमा हुने अति राजनीतीकरणले निम्त्याउने विषम परिस्थितिहरूका बारेमा सचेत हुनु पनि उत्तिकै आवश्यक देखिएको छ र यसको शुरुवात नेपाली कांग्रेसले नै गर्न सक्छ । यसका साथसाथै साधारण सदस्यता र क्रियाशील सदस्यताको दोहोरो प्रावधानलाई कसरी समयानुकूल प्रभावकारी बनाउने भन्ने कुरामा सोचिनु आवश्यक देखिन्छ । आवश्यकता अनुसार स्थानीय र प्रादेशिक तहको संस्थागत संरचना र तिनको परिचालनलाई केही लचिलो बनाउन सकिन्छ ।

एक सबल र सक्षम पार्टी गठनका लागि त्यसले समाजको समग्र स्वरूप र संरचनाको प्रतिनिधित्व गर्नु पक्कै पनि आवश्यक छ । विभिन्न खूबी र क्षमता भएका व्यक्तिहरूलाई पार्टीतर्फ कसरी आकर्षित गर्ने, उनीहरूलाई पार्टीका नीति, कार्यक्रमका बारेमा कसरी प्रशिक्षित गर्ने, संगठन सुदृढीकरणमा कसरी परिचालित गर्ने, उनीहरूको क्षमता र विशेषताको कसरी अभिलेख राख्ने, त्यसबाट पार्टीले हरेक तहमा कसरी उच्चतम लाभ लिने र तिनको उचित मूल्यांकन गर्ने भन्ने बारेमा पनि पार्टीले यथाशीघ्र वस्तुनिष्ठ खाका तयार पार्नु आवश्यक देखिएको छ । हुनत केन्द्र तहमा विभिन्न विषयगत विधाहरू हेर्न विभागहरू पनि गठन भएका छन्, तर ती विभागहरू समयमै गठन हुने गरेका छैनन् भने तिनको संस्थागत स्थिरता, निरन्तर क्रियाशीलता पनि खासै भेटिने गरेको छैन ।

योग्यतम नेतृत्वको विकास

पर्याप्त नीतिगत बहस र छलफलको अभावमा बनाइएका कतिपय नियमकानून, नीति, योजनाहरूले स्थिरता पाउन र स्पष्ट दिशा पक्रन सकेका छैनन् । यस बापत देशले महँगो मूल्य चुकाइरहनु परेको छ

समाज गतिशील छ । समाजका धैरै विषयहरूमा निरन्तर परिवर्तनको प्रवाह चलिरहेको हुन्छ । समाजको गतिशीलता र परिवर्तनको प्रवाहलाई बुझ्न, आत्मसात् गर्न नसक्ने हो भने राजनैतिक दलहरू र समाजबीचको खाडल पनि बढ्दै जान्छ । नेपाली कांग्रेसले आफूलाई समयानुकूल बनाइराख्न, समाजका अपेक्षालाई बुझ्दै, आत्मसात् गर्दै नेतृत्व दिन चाहने हो भने समाजमा रहेका योग्यतम व्यक्तिहरूलाई पार्टीमा समाहित गर्दै अगाडि बढ्न सक्नुपर्ने हुन्छ । त्यसैगरी, स्थानीय तहदेखि प्रदेश र केन्द्र तहसम्म निष्ठा, नैतिकता, आचरण, क्षमता र योग्यता भएका व्यक्तिहरूको नेतृत्व पनि सोही अनुसार विकास गर्दै जानुपर्ने हुन्छ । नेतृत्व विकासका लागि पार्टीमा प्रशिक्षण विभाग नभएको होइन, तर तिनको अपेक्षित सक्रियता भने यस दिशातर्फ खासै देखिएको छैन ।

वास्तवमा नेपाली कांग्रेसले अबका दिनमा अझ बढी पारदर्शी, जवाफदेही र रचनात्मक बन्दै नागरिकको सामाजिक र आर्थिक परिवर्तनको कार्यनीतिमा केन्द्रित हुने कुरामा उपयुक्त वातावरण सिर्जना गर्नमा चालिने एक रणनीतिक कदम भनेको विभिन्न प्रशिक्षण मार्फत ज्ञानको प्रसार गर्नु हुनसक्दछ, जहाँ प्रतिबद्ध र ऊर्जावान् कार्यकर्ता तथा युवा नेताहरूले विभिन्न रणनीतिक विचार र सान्दर्भिक नीतिहरूका बारेमा गहन एवं घनीभूत हिसाबले प्रशिक्षित हुने अवसर पाउनेछन् । उनीहरूलाई उपयुक्त रोजाइको क्षेत्रमा जिम्मेवारी दिनुपूर्व नै प्रशिक्षित तुल्याएर त्यस जिम्मेवारीका लागि मानसिक रूपले तयार पार्नु आवश्यक देखिन्छ । यसका लागि तल्लो तहदेखि नै उनीहरूलाई घनीभूत ढंगबाट विशेष किसिमले प्रशिक्षित गर्नुपर्छ । वास्तवमा दीर्घकालीन हिसाबमा भन्नुपर्दा, युवा नेता तथा कार्यकर्ताहरूको प्रतिबद्धता, धैर्य, उत्साह, अठोट, आत्मविश्वास र क्षमताका आधारमा नै भविष्यमा उनीहरूले समुदाय, स्थानीय, प्रादेशिक तहको नेतृत्वमा सीमित हुने वा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहको उँचाइमा पुग्ने क्षमता राख्नेछन् ।

देश चलाउने वा देश चलाउने उम्मीद राख्ने पार्टीको विभिन्न तहको नेतृत्वले मैले जानेको छैन, सिक्न बाँकी छ वा नजानेर गल्ती भयो भन्ने छुट छैन । ऊनीहरूले सम्हाल्ने पदको मर्यादा र जिम्मेवारी अनुसार क्षमतावान् र योग्य हुनैपर्छ । क्षमता र योग्यता अनुसार उनीहरूलाई उपयुक्त जिम्मेवारी दिइनुपर्छ । पार्टीका नेताहरू मन्त्री वा अन्य कुनै उच्च पदमा आसीन भइसकेपछि पनि ५-६ महीनासम्म म सिक्दैछु, बुझ्दैछु भन्ने किसिमको अभिव्यक्ति अबको पुस्ताले सुन्न चाहँदैन, किनकि ती पदहरू भनेका सेवा दिनका लागि, केही गरेर देखाउनका लागि बनाइएका पदहरू हुन्, केवल सिक्न र जान्नका लागि मात्र बनाइएका प्रशिक्षणकारी वा आलंकारिक पदहरू होइनन् । राजनीतिमा युवा पुस्तालाई स्थापित गराउनुपर्छ भन्ने निकै सुनिने गरेको कुरा हो, तर युवा पुस्ता देश चलाउनका लागि योग्यतम हुने किसिमले प्रशिक्षित भएका छन् कि छैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

नीतिनिर्माणको बहस

राजनैतिक दलहरूले देशको शासनसत्ता चलाउने हुनाले पार्टीका नेता, कार्यकर्ताहरूले आफू परिचालित हुने तह अनुसारका नीतिगत कुराहरूमा जानकार हुने, बहस गर्ने, चिन्तन मनन गर्ने कुरामा संलग्न गराउनुपर्छ । अहिले देखिएका देशका केही जल्दाबल्दा सवालहरू जस्तै: कसरी देशभित्र दिगो रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, देशलाई अबको दश वर्ष, बीस वर्षभित्र कहाँ पुर्‍याउने, देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनहरूको कसरी दिगो उपयोग गर्ने, देशको आर्थिक विकासका लागि के कस्ता भौतिक पूर्वाधारहरू बनाउने जस्ता कैयन् सवालहरूमा पार्टीका विभिन्न तहमा जुन घनीभूत र गहन ढंगले छलफल, बहस चलाइनु आवश्यक छ, त्यसतर्फ पर्याप्त ध्यान जान सकेको देखिंदैन । अहिलेको संघीयता र समानुपातिक समावेशितालाई सफल बनाउन कतिपय नयाँ कुराहरूमा समेत ध्यान दिनुपर्ने देखिएको छ । त्यस पक्षमा पार्टी कार्यकर्ताहरूलाई उपयुक्त ढंगले प्रशिक्षित गर्ने कुरामा विलम्ब भइराखेको छ ।

ग्रामीण बस्ती विकास, शहरीकरण, प्रादेशिक केन्द्रहरूको विकासको स्वरूप र प्रकृति, शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधार जस्ता कैयन् यस्ता सवालहरू छन्, जसमा निरन्तर बहस, चिन्तन र अध्ययन, अनुसन्धानको जरुरत पर्छ, तर यसका लागि पार्टीले नीतिगत बहसको नेतृत्व गर्न, बहस चलाउन सक्न वा अध्ययन अनुसन्धान गराउन सक्ने संस्थाहरूलाई अपेक्षित ढंगले परिचालित गर्न सकेको छैन । पर्याप्त नीतिगत बहस र छलफलको अभावमा बनाइएका कतिपय नियमकानून, नीति, योजनाहरूले स्थिरता पाउन र स्पष्ट दिशा पक्रन सकेका छैनन् । यस बापत देशले महँगो मूल्य चुकाइरहनु परेको छ । कहिलेकाहीं एउटै विषयमा पार्टीका विभिन्न नेताका बिलकुल फरक फरक भनाइ, दृष्टिकोण र विचारहरू सार्वजनिक भइरहँदा सर्वसाधारणमा थप अन्यौल छाउने पनि गरेको छ । यी सबैको मूल जरो खोज्दै जाने हो भने पार्टीभित्र अपेक्षित महत्व पाउन नसकेको नीतिगत विषयमा हुने पर्याप्त छलफल, प्रशिक्षण नै हो ।

चुनावी घोषणापत्रमा लेखिएका वा लेखिनुपर्ने कुरामा पार्टीका नेता, कार्यकर्ताहरूका बीच वस्तुगत ढंगले विचार विमर्श र चिन्तन गर्ने प्रवृत्ति विरलै भेटिने गरेको छ । घोषणापत्रमा के कस्ता कुराहरू लेखिनुपर्ने हो, तिनमा लेखिएका कुरालाई कार्यान्वयन गर्ने कुरामा अहिलेको शासनसत्ता सञ्चालनको विद्यमान यथार्थबीच कत्रो खाडल छ, घोषणापत्रमा लेखिएका कुराहरू प्राप्त गर्न के कति स्रोतसाधनको आवश्यकता पर्छ, त्यसका लागि देशको शासकीय संयन्त्रलाई कसरी परिचालित र परिमार्जित गर्नुपर्छ भन्ने कुरामा पर्याप्त छलफल चलाउन नसक्ने हो भने शासनसत्तामा पुगेपछि रनभुल्ल पर्नु बाहेक अर्को कुनै विकल्प हुँदैन । यस्तै अवस्थाबाट पार्टी पटक–पटक गुज्रिएको अनुभव पनि हामीले गरेका छौं ।

र अन्तमा,

अहिलेको नेपाली पुस्ताले विश्वमा भइराखेका परिवर्तन र प्रगतिलाई नजिकबाट नियाल्ने अवसर पाएको छ । प्रत्येक नेपालीले अबको विश्वमा नेपाली भएर बाँच्दा गौरव महसूस गर्न सकियोस् भन्ने आकांक्षा राख्दछन् । सबै नेपाली आफ्नो क्षमता र दक्षताको उच्चतम प्रस्फुटन गरेर समृद्ध जीवन बाँच्नका लागि पर्याप्त अवसरहरू उपलब्ध होस्, समाजमा भएका हरेक किसिमका विभेद, शोषण, अन्यायहरूको अन्त्य होस्, सामाजिक न्याय सहितको आर्थिक विकास होस् भन्ने चाहन्छन् । नेपाली जनताका यी सपना, आकांक्षाहरूलाई पूरा गरेर समृद्ध देश बनाउने काम भनेको फूलबारीको हेरचाह गर्ने एक कुशल मालीको जस्तै हो । जसले प्रत्येक फूललाई फक्रने उत्तिकै अवसर र वातावरण दिएको हुन्छ । अनि ती फूलहरूलाई बलियो धागोमा सूत्रबद्ध रूपमा उनेर सुन्दर मालाको रूप दिन सक्ने क्षमता पनि हुनुपर्छ, राजनीतिक पार्टीमा ।

हाम्रो वर्तमान संविधानमा भएको व्यवस्था अनुसार राजनैतिक दल बाहेक अन्यले शासन चलाउन सक्ने कुराको परिकल्पना गरेको छैन । यस अवस्थामा नेपाली कांग्रेसले अझ बढी संस्थागत ढंगले चल्ने, दलमा नेतृत्वका लिन योग्यतम व्यक्तिहरूलाई प्रोत्साहित गर्ने, देश विकासको प्रष्ट दूरदृष्टि बनाएर त्यसको प्राप्तिका लागि दलका समस्त पार्टी पंक्तिलाई त्यसै अनुसार प्रशिक्षित तुल्याइँदै लैजाने जस्ता विषयहरूमा नेपाली कांग्रेसको १४औं महाधिवेशनले घनीभूत ढंगले बहस चलाउन सकोस्, जुन बहसका आधारमा नै पार्टीको मात्र होइन, देशको भविष्यको समेत स्पष्ट मार्गचित्र कोरिन सक्ने अपेक्षा गर्न सकिन्छ ।

(त्रिपुरासुन्दरी-२, धादिङका श्रेष्ठ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।)  

 



COMMENTS

 


thedesigners7
Name

news,1019,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कांग्रेस महाधिवेशनमा हुनुपर्ने बहसका विषय
कांग्रेस महाधिवेशनमा हुनुपर्ने बहसका विषय
https://www.onlinekhabar.com/wp-content/uploads/2021/11/Niranjan_Shrestha.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_12.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_12.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy