
वीरगंज । वीरगंज महानगरपालिकाले आर्थिक केन्द्र वीरगंजको परिचय र अस्तित्वसँग जोडिएका शंकराचार्यद्वार, घण्टाघर लगायतका ऐतिहासिक धरोहरको संरक्षण तथा सौन्दर्यीकरणका लागि विशेष अभियान शुरु गरेको छ ।
महानगरपालिकाले वीरगंजको केन्द्रमा रहेको घण्टाघर, नेपाल प्रवेशद्वारको रुपमा रहेको आर्थिक केन्द्र वीरगंज प्रवेश गर्ने मुख्य ढोका शंकराचार्यद्वार तथा ज्येष्ठ नागरिक पार्कको मर्मत सुधार र सौन्दर्यीकरणका लागि नगर स्तरीय बजेट तर्जुमा गरी निर्माण कार्य शुरु गरेको नगर प्रमुख विजय सरावगीले जानकारी दिनुभयो ।
महानगरपालिकाले घण्टाघरको मर्मत सम्भार, रंगरोगन सहित विद्युतीय सौन्दर्यीकरणका लागि ४० लाख बजेट विनियोजन गरेको छ भने शङ्कराचार्य द्वारको मर्मत सम्भार रंगरोगन सौन्दर्यीकरणका लागि ९ लाख रुपैयाँ छुट्याइएर निर्माण कार्य सुरु गरिएको महानगरपालिकाका योजना शाखाका इन्जिनियर राकेश साहले बताउनुभयो ।
त्यसैगरी महानगरपालिकाले ज्येष्ठ नागरिक पार्कको रुपमा रहेको लक्ष्मणवा पार्कलाई मर्मत सुधार र सौन्दर्यकरण गर्न ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको र निर्माण कार्य तत्कालै सुरु गर्ने योजनामा रहेको इन्जिनियर साहले बताउनुभयो ।
यता महानगरपालिकाले घडिअर्वा पोखरी परिसर भित्र रहेको सूर्य मन्दिरको छठ पूजाको अवसर पारेर सौन्दर्यकरण तथा लाइटिङ्गको व्यवस्था मिलाएको इन्जिनियर साहले बताउनुभयो ।

प्रतिक्रिया