पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रका लागि योगदान गरेको सञ्चार जगतमाथि अङ्कुश लगाउने गरी कानून नआउने स्पष्ट पार्नुभयो ।
सञ्चार माध्यममा आउने समाचारलाई सरकारले सुझावका रूपमा लिएको भन्दै उहाँले सामाजिक सञ्जालमा कतिपय टीकाटिप्पणी मर्यादा विपरीत आउने गरेको बताउनुभयो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई सम्मान गर्नुभयो ।
प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष लम्सालले श्रमजीवी पत्रकारका पक्षमा युनियनले काम गर्ने बताउनुभयो । सरकारले चार वर्षअघि तोकेको न्यूनतम पारिश्रमिकले वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै उहाँले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो ।
रासस
प्रतिक्रिया