महेन्द्रनगर । गत वर्ष कात्तिक महिनामा आएको बेमौसमी बर्सातले कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती पूरै डुबानमा पर्यो ।
धान खेती समेट्ने बेला आएको बाढीले किसानहरूको धानबाली त क्षति गर्यो नै, अझ ३९ परिवारको बसोबास रहेको सीमा नाकाको कुतियाकवरको बस्तीमा छाक टार्नसमेत मुस्किल पर्यो । विसं २०२२ देखि सीमाको पहरेदार बनेका कुतियाकवरबासीको त्यो बाढीको पीडामा सीमापारिका भारतीय नागरिकले लगाएको गुन स्थानीयवासी टेक सुनार अझै सम्झिन्छन् ।
खुल्ला सीमा नाका, भारतीयसित सीमा स्तम्भ नहुँदा सीमा विवाद र अतिक्रमणका झमेलाहरू पर्ने गरेको भए पनि कुतियाकवरबासी र सीमापारिका भारतीयबिचको सम्बन्ध भने नङ र मासुको जस्तै छ । केही वर्षअघि मात्रै जोग बुढा नदीमा झोलुङ्गे पुल बनेपछि मुलुकसित साइनो जोडिएको बताउँदै सुनारले अझै पनि आफूहरूको किनमेलदेखि रोजगारीका लागि भारतीयहरूसित सहकार्य हुँदै आएको जानकारी दिनुभयो ।
सीमापारिको भारतीय कलौनीका नागरिकसित पैसाको सापटीदेखि घरायसी खाद्यान्न समेत सरसापटीमा चलाउने गरेको सुनारको भनाइ छ । “समस्या पर्दा मैले नै भारतीय छिमेकीसित रु १० हजार मागेर अस्पतालमा उपचार गर्न गएको छु”, विगत सुनाउँदै सुनारले भन्नुभयो, “गत वर्ष बाढीका बेला पनि सात दिनसम्म भारतीय नागरिकहरूले नै हामीलाई खाद्यान्न सहयोग गरे ।”
सीमामा दुई देशका नागरिकबिचको प्रगाढ सम्बन्ध केवल व्यवहारमा मात्रै सीमित छैन । समस्या पर्दा दुवै देशका सिमानामा बसोबास गर्ने नागरिकहरूबिच सरसापटी समेत लामो समयदेखि चल्दै आएको छ । विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यहरूमा पनि दुवै देशका नागरिकहरूबिच निम्ता आदानप्रदान समेत हुने गरेको छ ।
त्यसैगरी अर्का स्थानीयवासी बसन्ती सुनारले आफूहरूको भाइचाराको सम्बन्ध रहेको बताउनुभयो । सीमा क्षेत्रमा नेपाली र भारतीयको सुरक्षा गस्तीका कारण आफूहरू सुरक्षित रहेको सुनारको भनाइ छ ।
“कतिपय बेला त भारतीयहरूको घरबाट पीठो मागेर पनि रोटी पकाएर खाएका छौँ”, उहाँले भन्नुभयो, “उनीहरू पनि समस्या पर्दा निःसङ्कोच हाम्रो दैलोमा आउँछन् ।” दोधारा चाँदनीको विकट बस्तीमा पर्ने कुतियाकवर अझै पनि राज्यको पहुँच र सुविधाबाट टाढा छ । जोग बुढा नदी कटान समस्याका साथै बस्तीका बालबालिकाहरू अझै शिक्षाको पहुँच बढाउन सकिरहेका छैनन् ।
विसं २०२२ सालमा कुतियाकवरमा करिब दुई सय घरपरिवारको बसोबास रहे पनि बाढीको त्रासले अन्यत्र सरेको स्थानीयको भनाइ छ ।
रासस
प्रतिक्रिया