काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दीकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाको उपचारबारे चासो लिनुभएको छ ।
गृहमन्त्री खाणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई टेलिफोन गरी ती दुर्घटनामा घाइते भएकाको उपचार प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले अस्पताल पुर्याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ ।
पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएका जनाइएको छ ।
यता सुनसरीका कोशी टप्पु वन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मृत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिनुभएको छ ।
त्यस्तै भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेको यथाशीघ्र उपचारको व्यवस्था गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले निर्देशन दिनुभयो । उक्त घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका जनाइएको छ ।
रासस
प्रतिक्रिया