काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउन्ड पार्किङभित्र रहेको डिस्को, सो रुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदाम लगायत हटाउने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउन्ड भित्रका संरचना हटाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले अन्डरग्राउन्ड पार्किङभित्र डिस्को, सो रुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदाम लगायतका कारण उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभाबी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताउनुभयो ।
ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घण्टे ड्युटी, ३२६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक तीन घण्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ ।
महाशाखाले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख चार हजार ५९७ सवारी साधनलाई कारबाही गरी रु ३३ करोड १३ लाख ६८ हजार २१८ राजस्व सङ्कलन गरेको छ ।
सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार ८९३, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३३ हजार ५९०, रातो बत्तीको पालना नगर्ने १८ हजार ९८४ र तीव्र गतिमा चलाउने १८ हजार ४४७ सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले अव्यवस्थित रूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार ९०५ सवारी साधनलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र भाडा ठगी गर्ने तथा अनियमितता गर्ने १० हजार २९५ सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता दासले बताउनुभयो ।
सोही आवमा कार्यालयले प्रविधिको क्षेत्रमा पनि विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र कागजपत्र लिने ठाउँ रहेकोमा अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।
रासस
प्रतिक्रिया