
बीरगंज । जनशक्ति अभावको कारण उद्घाटन भएको दुई महिना बितिसक्दा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बीरगंजमा निर्माण गरिएको ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर अझै सञ्चालन नहुँदा संक्रमित फोहोर व्यवस्थापन कार्य अलपत्र भएको छ ।
गत मङ्सिर २६ गते वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले उक्त म्यानेजमेन्ट सेन्टरको उद्घाटन गर्नुभएको थियो ।
बीरगंज महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक, प्रयोगशालालगायत अन्य स्वास्थ्य संस्थाबाट निस्किने संवेदनशील तथा संक्रमित फोहोरजन्य पर्दाथहरुको उचित व्यवस्थापनका लागि ल्यान्ड फिल्ड साइड परिसरभित्रै १२ कट्ठा क्षेत्रफलमा करिब ६ करोड २२ लाखको लागतमा ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टरको निर्माण गरिएको थियो । तर हाल उक्त सेन्टरमा फोहोर सङ्कलन गरी थुपार्नु बाहेक अन्य कुनै काम हुन सकेको छैन ।

थुपारिएको फोहरबाट प्लास्टिकजन्य पदार्थ छुट्याउने मात्रै काम भइरहेको छ ।
स्वास्थ्य संस्थाजन्य पर्दाथहरुको विसर्जनका लागि जडान गरिएको मेसिनहरू प्रयोग विहीन अवस्थामा छ । अस्पतालबाट दैनिक ५ मेट्रिक टनको हाराहारीमा फोहोर निस्कने गरेकोमा १ दशमलव ७ मेट्रिकटन टक्सिक अर्थात् (अति सङ्क्रामक) फोहोर निस्कने गरेको महानगरपालिकाको अध्ययनले देखाएको छ । ती फोहोरहरूमा बिक्री हुने प्लास्टिक तथा अन्य पर्दाथहरु छुट्याउदा पनि सतर्कता अपनाएको पाइँदैन ।
वीरगन्ज महानगरपालिकाका इन्जिनियर प्रकाश अधिकारीले जनशक्तिको अभावमा सेन्टर सञ्चालनमा ढिलाइ भएको भन्दै आगामी दुई हप्तामा सेन्टर सञ्चालनमा आउने बताउनुभयो ।
प्रतिक्रिया