
बीरगन्ज । जिल्ला कृषि ज्ञान केन्द्र पर्साले जिल्लाको पर्सागढी नगरपालिका ३ झुलीटारमा रहेको सुनखरी कृषि सहकारी संस्थामा सङ्गठित एक सय जना किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरेको छ ।
बाली वृद्धि विकास अन्तर्गत गहुँ ब्लक क्षेत्र कार्यक्रम लागु गरेको पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थासँग आबद्ध कृषकलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत श्यामकिशोर कुर्मीले बताउनुभयो ।
सुनखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईकाअनुसार गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका किसानलाई रोग किरा नियन्त्रणका लागि सहज होस भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको बताउनुभयो ।
४ हजार ४ सय खरिद गरिएको स्प्रे ट्याङ्की किसानलाई २ हजार २ सयमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
बाली वृद्धि विकासका लागि २५ लाख रुपियाँ बजेट आएकाले त्यसैबाट विभिन्न कार्यक्रम आयोजना गरी कृषकलाई सेवा दिइरहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।
कार्यालयले सिचाइका लागि मोटर, विभिन्न बालीको बिउ बिजनलगायत कृषि कार्यमा आवश्यक पर्ने विभिन्न खाले उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा वितरण गर्दै आइरहेको प्रसादले जनकारी दिनुभयो ।
प्रतिक्रिया