जनकपुरधाम । माओवादीले गरेको सशस्त्र विद्रोहको सम्झना गर्दै मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले ४० सहिद परिवारलाई सम्मान गरेको छ ।
पहिलो पटक मधेस सरकारले आयोजना गरेको २७औँ बलिदानी दिवसको अवसर पारेर प्रत्येक जिल्लाबाट माओवादी जनविद्रोहका समयमा शहादत भएका प्रदेशका ८ जिल्लाबाट पाँच पाँच जना गरेर ४० सहिद परिवारलाई प्रति परिवार १ लाखको दरले राहत रकम प्रदान गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिद परिवारका सदस्यलाई दोसल्लासहित सम्मान पत्र प्रदान गरेर १ लाखको राहत रकम सहितको चेक हस्तान्तरण गर्नुभएको छ ।
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण तथा मधेस प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले विभिन्न आन्दोलनका कारणले मुलुकमा सङ्घीयता सहितको गणतन्त्र स्थापना भएको बताउनुभयो ।
मधेस प्रदेश सरकारले पहिलो पटक बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।
प्रतिक्रिया