Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

धुनियाँको आफ्नै दुनियाँ

४ मंसिर, काठमाडौं । भारतको मोतीहारीबाट बुवा मन्सुरको पछि लागेर काठमाडौं आएका थिए संसाद आलम, १८ वर्षअघि । त्यसबखत उनी फुच्चे थिए । १२ वर्षका ...

४ मंसिर, काठमाडौं । भारतको मोतीहारीबाट बुवा मन्सुरको पछि लागेर काठमाडौं आएका थिए संसाद आलम, १८ वर्षअघि । त्यसबखत उनी फुच्चे थिए । १२ वर्षका । खाने खेल्ने यो उमेरमा घर छाड्नु उनको रहर थिएन ।

घरमा छाक टार्नै मुस्किल थियो । खाने–खेल्ने अवस्था थिएन । लेखपढ गर्ने मेलोमेसो थिएन । दुःखले लखेट्दै उनलाई काठमाडौं शहर ल्याइपुर्‍यायो । यहीँ उनको आधा जीवन गुज्रियो । यो शहरले उनलाई त चिन्दैन । तर, संसाद आलम यो शहरको कुनाकाप्चासँग परिचित छन् ।

निजामुद्दीन खाजा मन्सुरी र सिकारु धुनियाँ रञ्जीत माझीको साथमा आलम हरिसिद्धिमा डेरा लिएर बस्ने गर्छन् ।

बिहान ६ बजेर उठेर करिब आधा घण्टामा आलमको नित्यकर्म सकिन्छ । यो बुधबार पनि उनको यही दैनिकी सुरु भयो । सँगै उठेका निजामुद्दीनले आलमको र आफ्नो धनुष (धनुहै)मा तेल लगाए । जिस्ता पुछे । कोठाको कुनामा राखेको कालो रुवालाई पिठ्युमा भिरे र आ-आफ्नो धनुष बोकेर टोल चहार्न निस्किए ।

हरिसिद्धिको पानी ट्यांकीभन्दा केही तल एउटा सिरक पसल छ । उक्त पसल मोतीहारीकै इन्ताज अलीले सञ्चालन गर्दै आएका छन् । त्यही पसलबाट आलमले एकदिनलाई पुग्ने कालो रुवा किनेर घरघर चहार्छन् । दिनभरि काम पाइएन भने गुजारा चलाउन कहिलेकाहीँ यही पसलेसँग पनि रोजगारीको लागि आग्रह गर्नुपर्छ ।

बिहान ७ बजेतिर कानमा फिता गुथेर आलमको नेतृत्वमा टोली निस्कन्छ । काठमाडौंको बढ्दो चिसोलाई चुनौती दिँदै ८ बजेतिर टोली थसिखेल पुग्यो । त्यहाँ पुग्दा झुल्के घामको किरणले उनलाई न्यानो महसुस गराउँछ । घामको किरण चम्किएसँगै चिसोले बिगारेको उनको अनुहारमा पनि चमक बढ्दै जान्छ ।

आलमले १७ वर्षीय माझीलाई भर्खरै काम सिकाउन थालेका हुन् । ‘यसको आज पहिलो दिन हो । अब यसले पनि हामीले झैं ३ महिनासम्म बिनापारिश्रमिक काम सिक्नुपर्छ ।’ त्यतिबेलासम्म मौनता साँधेर  बसेका माझी आलमले भनेको विनापारिश्रमिक कामको कुरा सुनेपछि खिस्स हाँस्दै आफ्नो कामतिर लाग्छन् ।

डेराबाट २ घण्टा जतिको हिँडाइपछि उनीहरु थसिखेल पुग्छन् । त्यहाँ एउटा काम पनि भेटियो । एउटा डसना र ३ वटा सिरक थियो । जसबापत उनले ३५०० रुपैयाँ पाए । दुई भाइहरू निजामुद्दीन र माझी साथमै थिए । सबै काम सक्दा २ बजेको थियो । त्यसदिनको लागि उनीहरू त्यसभन्दा अघि बढेनन् ।

‘आजको लागि पुग्यो । कुनैदिन एउटा पनि काम पाइँदैन । आज त एकै ठाउँमा यति धेरै काम पाइयो,’ उनी भन्छन्, ‘खुदाको इच्छा हो, आज खुदा खुशी भएछन् ।’ आलम एउटा सिरक बनाएको ज्याला ३०० देखि ५०० सम्म लिने गर्छन् ।

नाकाबन्दी, कोरोना कहर र काठमाडौं शहर

२०७२ सालको भूकम्पभन्दा केही वर्षअघिको कुरा हो । आलमलाई कसैले काठमाडौंभन्दा बाहिर सिरक-डसना बनाउने काममा धेरै फाइदा हुन्छ भनेर सुनाए । उनी पनि केही साथीसँग मिलेर उपत्यका बाहिर जाने निधो गरे । यही सिलसिलामा उनी काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ जस्ता आधा दर्जन जति जिल्ला पुगे । ‘पहाड जाँदा कामको त कहिल्यै कमी भएन । एकैदिन ६/७ हजार रुपैयाँसम्म पनि कमाइ भयो । तर त्यहाँको जीवन साह्रै मुस्किल रहेछ ।’ उनले सुनाए । भूकम्पपछि भने उनले उपत्यका छाडेका छैनन् ।

कसैले ‘घर कहाँ हो ?’ भनेर सोध्यो भने आलम निर्धक्कसँग भारतको मोतिहारी जिल्ला भन्छन् । ‘कतिपय साथीहरूले ढाँट्ने पनि गर्दा रहेछन्,’ उनी भन्छन्, ‘किन ढाँट्नु पर्‍यो ? जहाँ बसेर काम गरे पनि श्रमको मूल्य लिने न हो ।’

घर भारत भन्दै गर्दा काठमाडौंमा उनले धेरै समस्या पनि भोग्नु पर्‍यो । ‘हामीलाई त अहिले कसैले ‘तपाईं’ भनिहाल्यो भने पनि अफ्ठेरो लाग्छ । नेपाली भन्यो भने तपाईं भन्नेहरूले भारतीय भन्नेबित्तिकै अर्कै व्यवहार गरिहाल्छन् । तर त्यतातिर हामी सोच्दैनौं । हाम्रो ध्यान व्यवसायमा हुन्छ,’ उनी अनुभव सुनाउँछन् ।

अरू व्यवसाय त राम्रै चलिरहेको थियो । तर, २०७२ सालमा भएको नाकाबन्दीको समयमा भने उनले पनि आफ्नो परिचय लुकाउनै पर्ने बाध्यता आइपर्‍यो । भारतले गरेको नाकाबन्दीले मान्छेमा भारतीयप्रतिको आक्रोश तीव्र थियो । केहीदिन त उनी घरबाट बाहिर पनि निस्किएनन् । उनी भन्छन्, ‘त्यो सरकार–सरकारबीचको समस्या थियो । हाम्रो गल्ती त केही थिएन । तर भीडले त्यो बुझ्नेवाला थिएन । त्यसैले हामीले केही समय पहिचान लुकाएरै व्यवसाय गर्नु पर्‍यो।’

अहिले कोरोना महामारी भयो । भारत ठूलो मुलुक भएकाले पनि कोरोना महामारीमा धेरै संक्रमित हुनु स्वाभाविक थियो । तर भारतीय भन्नेबित्तिकै कोरोना नै लिएर आयो भन्ने खालको व्यवहार धेरै सहनुपर्‍यो । तर उनी यो पेशामा अहिले ठाउँठाउँमा खुलेका सिरक पसलका कारण चुनौती थपिए पनि यो आफैंमा सम्मानित पेशा रहेको उनी बताउँछन् ।

नेपालीले छाडे, काठमाडौंमा धेरै भारतीय धुनियाँ

वास्तवमा नेपालमा धुनियाँ नामको छुट्टै जाति नै छ । जसको परम्परागत पेशा नै सिरक डसना बनाउनु हो । यताका धुनियाँले आफ्नो थर नै ‘धुनियाँ’ लेख्छन् । तर भारतबाट आउनेहरुले आफूलाई कर्मको आधारमा धुनियाँ बताउने गर्छन् । २०६८ को जनगणना अनुसार नेपालमा धुनियाँ जातिको संख्या १४ हजार ८४६ जना थियो । तर नेपालका धुनियाँहरूले बिस्तारै आफ्नो परम्परागत काम बिर्सन थालेपछि अहिले बजारमा भारतीय मूलका धुनियाँहरूको रजगज छ । रोचक कुरा त यो छ कि नेपालमा नेपाली धुनियाँहरू पाउन मुस्किल छ । तर नेपाली धुनियाँहरू विदेशमा गएर यही परम्परागत काम गर्छन् ।

लुम्बिनी प्रदेशको दक्षिणी भेगमा रहेको मर्चवारी गाउँपालिकामा बसोबास गर्ने धुनियाँ जातिको मुख्य परम्परागत काम नै कपासबाट सिरक/डसना बनाउनु हो । उनीहरूको परम्परागत हतियार धनुहै र जिस्ता हो । धुनियाँ जातिको परम्परागत जातीय गतिविधिमा कपास सम्बन्धी कामका अलावा कृषि र कृषिसम्बन्धी अन्य मजदुरी पनि हो । गाउँपालिकाको वडा नं १, ६, ७ लगायतमा बसोबास गर्ने धुनियाँ जातिले अहिले पनि सोही पेसा अपनाउने गरेको ६ नं वडाका वडाध्यक्ष राम अचल कुर्मीले जानकारी दिए । कुर्मीका अनुसार उनीहरू अहिले पनि गाउँघरमा कृषि कर्म गर्ने र फुर्सदमा भारत गएर सिरक डसना बनाउने काम गर्छन् ।

धनुहेल जन्तर उनीहरूको जातीय सांस्कृतिक सामग्री हो । तर, यो हिजोआज पाउन छाडिसकिएको छ । यो फलामबाट बन्ने एक किसिमको उपकरण हो, जुन धुनियाँ जातिको परम्परागत उपकरण अन्तर्गत् पर्छ । उनीहरूको मौलिक धनुहै पनि प्रविधिको विकाससँगै लोपोन्मुख अवस्थामा छ ।

परम्परागत पहिरन

धुनियाँ जातिको मौलिकता केवल अन्य सामग्रीमा मात्रै सीमित छैन । गहना र पहिरनमा पनि उनीहरू विशेष छन् । महिलाले खिल नाको एउटा गहना लगाउने गर्थे । जुन नाकमा लगाउने गहना हो । हिजोआज उनीहरू कानमा नथियाँ र झुम्का लगाउने गर्छन् । हासु भन्ने गहना पनि लगाउँछन् । जुन चाँदीबाट बनेको हुन्छ । त्यस्तै सुनको हार पनि लगाउने गर्छन् । जुन घाँटीमा लगाइन्छ । किलिप नामक गहना शिरमा लगाउने गर्छन् भने निधारमा टीका र औंलामा औंठी लगाउने उनीहरूको मौलिक परम्परा रहेको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि सन् २०१४ मा ओम गुरुङ र मानबहादुर खत्रीले गरेको अध्ययनले देखाएको छ ।

केटा मान्छेले धार्मिक प्रतिबन्धका कारण सुनका गहनाहरू लगाउनु हुँदैन भन्ने मान्यता छ । तर उनीहरू चाँदीको गहना  भने लगाउँछन् । केटा मान्छेहरूमध्ये पनि वयस्कहरूले लुंगी र सर्ट लगाउँछन् भने बच्चाहरूले सर्ट र ट्राउजर लगाउने गर्छन् । धेरै धार्मिक उद्देश्यको लागि केटा मान्छेले सेतो क्याप, पाइजामा र सेतो कुर्ता सुरुवाल लगाउने गर्छन् । विवाह उत्सवमा उनीहरू सेरवानी लगाउने गर्छन् । यो बुट्टेदार खालको हुन्छ ।

धुनियाँको लागि सेतो कपडा विशेष खालको हुन्छ । उनीहरू सेतो रंगलाई सभ्यता, संस्कृति र विश्वासको प्रतीक मान्छन् । महिलाहरू सामान्यतया सारी, कुर्था सुरुवाल र चुँगी लगाउने गर्छन् । उनीहरू नकाव र बुर्काले अनुहार छोप्ने गर्छन् । एकल महिलाहरूले भने सेतो बुर्का लगाउने गर्छन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content