काठमाडौं । अनुसन्धानकर्ताले एउटा यस्ताे घडी निर्माण गरेका छन्, जो ब्याट्रीबिना चल्न सक्छ । याे घडीले त्यहाँ उत्पन्न भएको ऊर्जा प्रयोग गरी अन्य विविध कामसहित प्रयोगकर्ताको स्वास्थ्य अवस्था निगरानी गर्ने दाबी गरिएकाे छ ।
यो स्वचालित घडी इर्बिनस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अनुसन्धान टाेलीले निर्माण गरेको हो । यसले प्रयोगकर्ताको धड्कन ट्रयाक (निगरानी) गर्नुका साथै नजिक रहेका स्मार्टफोनसँग सम्पर्क गर्छ ।
यसको रिस्टब्याण्ड (घडीको फिता)मा रहेको नानो इनर्जी जेनेरेटरमा ट्याप गरेर ऊर्जा उत्पन्न गर्न सकिन्छ, जसले सेन्सर सर्कुरिटी र एलईडी डिस्प्लेलाई विद्युत उपलब्ध गराउँछ ।
घडीमा प्रयोग भएको नियर-फिल्ड कम्युनिकेसन (NFC-Near field Communication) ले घडी र स्मार्टफोनबीच डेटा र पावर एक्सेन्ज गर्ने काम गर्छ ।
नानो इनर्जी नामक साइन्टिफिक जर्नलमा यस घडीले मानिसको स्वास्थ्यका विभिन्न पक्षहरू जस्तै शरीरको तापक्रम, ब्लड प्रेसरमा कसरी मापन गर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।
यो घडीले आवश्यक पर्दा जुनसुकै समयमा स्वास्थ्य अनुगमन गर्नसक्ने बताइएकाे छ ।
यो कम लागत र लचिलो सामग्रीका साथ बनाइएको भएकाले सबै वर्गका प्रयोगकर्ताले प्रयोग गर्नसक्ने बताइएको छ । यसलाई लगाउनयोग्य बनाउन विभिन्न बायोइलेक्ट्रिक सेन्सर समावेश गरिएको छ ।
यो नवीनतम डिभाइसमा आविष्कारको क्षेत्रमा सबैभन्दा ठूलो आविष्कार मानिएको पातलो एमएक्सइन्स (MXenes- यो लिथियम-आयन ब्याट्रीमा ऊर्जा भण्डारण गर्न प्रयोग गरिएको हुन्छ) प्रयोग गरिएको छ, जसमा विद्युतीय र यान्त्रिक गुणहरू रहेका हुन्छन् ।
एमएक्सिनलाई ऊर्जा भण्डारण गर्ने, पानी शुद्ध गर्ने र ब्याक्टेरियाबाट बच्ने उल्लेखनीय क्षमता भएको पदार्थ मानिन्छ । यो पदार्थ घुमाउन मिल्ने र लचिलो भएकाले यसलाई प्रिन्ट गरेर ट्रिबोइलेक्ट्रिक नानोजेनेरेटर (TENGs) बनाइन्छ, जसलाई दबाएको खण्डमा वा बाह्य चाप दिएको अवस्थामा भोल्टेज उत्पादन हुन्छ ।
कुनै त्यस्तो विकट ठाउँ, जहाँ चार्ज गर्न असम्भव छ, त्यहाँ यो घडी उपयोगी हुने अनुसन्धानकर्ता इस्फान्डायर पोरले बताएका छन् । साथै उनले कतिपय अवस्थामा कुनै आफू बिरामी भएको सामान्य संकेत थाहा पाउन यो घडी उपयोगी हुने बताएका छन् ।
यो घडी वायरलेस र ब्याट्रीरहित भएकाले ब्याट्रीमा निर्भर हुनुपर्दैन, जसले गर्दा लिथियम-आयन ब्याट्रीजस्तो ओभर हिटिङ भएर चार्ज खेर जाँदैन ।
प्रतिक्रिया