२९ कात्तिक, काठमाडौं । आइतबार कमलविनायक-नगरकोट सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोके । ७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि पीडित स्थानीयले मन्त्रीसँग गुनासो राख्न खोजेका थिए ।
गाडी रोक्दा पनि मन्त्री यादवले स्थानीयसँग सम्वाद गरिनन् । बाक्लो सुरक्षा घेराबीच नगरकोट पुगेकी उनलाई स्थानीयले सडकमै अवरोध गरेर रोकेपछि प्रहरीले नै हस्तक्षेप गर्नुपर्योन ।
गाडीको सिसा खोलेर मन्त्री यादवका सहयोगीले मन्त्री नियुक्त भएको एक महिनाभित्रै अनुगमनमा आएको भन्दै दुई महिनाभित्र कालोपत्रेको काम गर्न ठेकदारलाई निर्देशन दिइएको जानकारी गराएका थिए । त्यसपछि भने मन्त्री यादव आफैं बाहिर निस्किएर स्थानीयसँग कुराकानी गरिन् । उनले पनि २ महिनाभित्र काम नसके ठेकदारसँग सम्झौता तोडिने बताइन् ।
ढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’
भाका सरेको सर्यै
सात वर्षदेखि निर्माणकै क्रममा अलपत्र छ, कमलविनायकबाट नगरकोट जाने १६ किलोमिटरको सडक । सडक निर्माणका लागि ठेक्का पाएको कम्पनीले चरम लापरवाही र ढिलाइ गर्दा पनि सरोकार निकाय मौन छन् ।
नगरकोट सडक निर्माणको जिम्मा लिएको शैलुङ कन्स्ट्रक्सन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ हाल बसिरहेको खुमलटारस्थित घरका घरबेटी शारदाप्रसाद अधिकारीको स्वामित्वमा छ ।
दुई हप्ताअघि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल अलपत्र सडकका निर्माणका लागि वातावरण बनाइदिन आग्रह गर्दै प्रचण्डा निवास नै पुगेका थिए । ठेकदर कम्पनी शैलुङ कन्सट्रक्सनले तिहारपछि ४५ दिनभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता गरेको स्थानीय नेताहरुलाई जानकारी दिएका थिए । प्रदेशसभाको उपनिर्वाचनमा भँडेलले यो सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएर नेपाली कांग्रेसबाट चुनाव जितेका थिए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र समयमा सडक नबनेकाले पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य भएको बताउँछन् । यो सडक बनाउन भारतीय कम्पनी एआईपीएल र शैलुङ कन्स्ट्रक्सनले जिम्मा पाएका हुन् ।
शैलुङ कन्स्ट्रक्सनले नै स्थानीय रुपमा काम गर्ने जिम्मा लिएर बसेको छ । सडक विस्तार गरेर ठेक्का कालोपत्रे गर्न २ असार २०७१ मा ठेक्का लागेको थियो । समयमै काम भएको भए यो काम ३ असार २०७५ मा सकिन्थ्यो ।
नगरपालिकाले पत्रमा सडक सममयै नबन्दा नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको मिश्रले बताए । पर्यटकको आवागमन समेत घटेकाले ठेक्का सम्झौता रद्द गरेर अर्को प्रक्रियामार्फत काम अघि नगरपालिकाले बढाउन माग गरेको छ ।
नगरपालिकाले संघ सरकारले नसक्ने भए स्रोतसहित स्थानीय सरकारलाई आयोजना हस्तान्तरण गर्न पनि भनेको छ ।
‘हामीलाई स्रोतसहित जिम्मा दिइयो भने ६ महिनमा सडक बनाउँछौं,’ मिश्रले भने । नगरपालिकाले निर्माण व्यवसायसहित सडक विभाग, आयोजनाको कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, संसदको विकास समितिसहित निकाय र संयन्त्रमा पटक-पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएकाले प्रधानमन्त्रीसमक्ष नै यस्तो पत्र पठाउनुपरेको मेयर मिश्रले बताए ।
समस्यामा स्थानीय र पर्यटक
सडक नबनेपछि २०७६ को कात्तिक महिनामा नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा स्थानीयले ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीका फोटो टाँसेर विरोध जनाएका थिए । कतिपय फोटोका माथिल्लो भागमा कुकुर र बाँदरका तस्वीर समेत जोडिएका थिए । स्थानीयले २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर सडक छिटो बनाउन माग गर्दै केही समय अघिदेखि स्थानीयबासिन्दा आन्दोलनमा गरेका थिए ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी-खरिपाटी-तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको थियो । तर, सात वर्ष बितिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन ।
निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् । नगरकोट जाने पर्यटक पनि प्रभावित छन् ।
सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कुल २८ करोडको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले ठेक्का लगाएको थियो । नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब ७ मिटर कालोपत्र बनाउन लागिएको हो । तर, पटक-पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीयहरु सरकार र ठेकदार सँग असन्तुष्ट छन् ।
ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले कतिपय खण्डमा असारअघि ‘सिंगल कोट पिच’ गरेको थियो । तर, वर्षायाममा नयाँ पिच पनि भत्किएको छ । शैलुङसँग सडकका धेरै ठेक्का भएकाले गर्नुपर्ने काम अनुसारको क्षमता नसकेको निष्कर्ष सडक विभागको छ ।
प्रतिक्रिया