स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सर्लाही–२ : नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै

SHARE:

३ कात्तिक, मलंगवा (सर्लाही) । हरिपूर्वा नगरपालिका–२ सर्लाहीका रामवीर यादवले उल्टै हामीसँग सोधें, ‘यसपटक कसलाई भोट हालौं ?’ अहिलेसम्म आफूले जिताएर पठाएका नेताहरूले आफ्ना लागि काम नगरेकाले उनलाई आफ्नो रोजाइ नै गलत पर्‍यो कि भन्ने लागेको रहेछ । त्यसैले भोट हाल्नुपर्छ भन्नेमा दृढ रहे पनि रामवीर कसलाई भोट हालौं भन्नेमा चाहिं द्विविधामा रहेछन् ।

चुनावका बेला मात्रै झुल्किने नेताहरूलाई भोट नै दिएर पनि केही अर्थ छैन भन्ने उनलाई लागेको छ । त्यसैले उनी यसपालि जनताप्रति प्रतिबद्ध नेता छान्ने सोचमा छन् । तर उठेका उम्मेदवार कुनै त्यस्ता छैनन्, जो रामवीरका नजरमा साँच्चिकै जनताका लागि काम गरेका होउन् ।

उनको जस्तै द्विविधा कबिलासी नगरपालिका–८ का भिखारी रायको पनि थियो । आफूहरूले जिताएर पठाएका नेताहरू काठमाडौंमा ऐस–आराममा अलमलिएको भन्दै उनी पनि आक्रोशित देखिए । ‘मत किन दिने ? जो आउँछन् जितेर जान्छन् । काठमाडौंमा करोडौंको घरघडेरी किन्छन् । हाम्रो अवस्था के हो बुझ्न आउँदैनन्’, रायले भने ।

सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार छन् । तीमध्ये अलि धेरै दौडधुप नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोको छ ।

सर्लाही–२ का लागि दुवै नेता नयाँ अनुहार होइनन् । आफ्नो क्षेत्रमा कुन नेताले कस्तो काम गरेको छ भन्ने राम्रै हिसाब राखेका जनताले यसपटक नेताहरूसँग सकेको धेरै प्रश्न गरेर मात्रै भोट हाल्ने सोचमा छन् । कबिलासी नगरपालिका सलेन चोकका उमेश साह जितेर गएपछि वास्तै नगर्ने नेताहरूको परम्पराबारे उनीहरूलाई नै प्रश्न गर्न चाहन्छन् ।

चोकमा सानो पसल गरेर बसिरहेका उनको भोट माग्न नेताहरूका गाडी यताउता दौडिरहँदा रिसको पारो तात्छ । ‘नेताहरू अलिअलि आउन थालेका छन् । चुनावमा आएर बाबुदादा भन्दै हात जोडेर भोट माग्छन्’ साहले भने, ‘जितेपछि व्यवहार नै छुट्टै गर्छन् । वास्तै गर्दैनन् ।’

हामी सर्लाही क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा पुग्दा घरदैलो सुरु गरेका नेताहरूका गाडी हुँइकिंदै थिए, उम्मेदवारहरू घरघरमा पुगेर भोट माग्न व्यस्त । सुरुमा हामी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरिरहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको घरदैलो हेर्न गयौं ।

मलंगवा नगरपालिका सलेन टोलमा उनी जुन बाटो हिंडेर भोट मागिरहेका थिए, त्यही बाटोले यादवलाई गिज्याइरहेको थियो । स्थानीयले भनिहाले, ‘बाटो यस्तो छ, मन्त्रीजी फेरि भोट माग्न आउनुभएको छ ।’ तर उनको कुरा स्थानीयको भनाइभन्दा पनि आफ्नो रटानमै केन्द्रित भयो ।

यादवले भने, ‘हामी संविधानलाई सही ट्र्याकमा ल्याउन र प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरेर चुनावमा आएका छौं ।’ जनतालाई भने संसद विघटनभन्दा ठूलो प्रतिगमन आँगनै अघिल्तिरको ठूलो ढल थियोे । उनीहरूले त्यही कुरा गरे बारम्बार । महिन्द्रराय यादवले टाउको हल्लाइरहे ।

यादव सलेन टोलमा भोट मागिरहेको बेला उनका प्रतिस्पर्धी मानिएका राजेन्द्र महतो कौडेना गाउँपालिका–३ को पासवाना टोलमा पुगे । पीच सडकमै गाडीबाट ओर्लिएर दलबलसहित टोल छिरेका महतोलाई स्थानीय महिलाहरूले लस्करै उभिएर हेरे । तर महतोले ती एक हूल महिलातिर हेरेनन्, सरासर अघि बढे ।

हामी उनै महिलाहरूसँग कुराकानी गर्न भनेर रोकियौं । महिलाहरूको दुःख भनिसाध्यको रहेनछ । गत बर्खामा मात्रै घर पूरै बाढीले डुबाएपछि स्थानीय स्कुलमा गएर बसेको बिर्सिएकै छैनन् उनीहरूले । बिर्सिन त उनीहरूले पाँच वर्षअघि हालेको भोट र भोट हाल्दा पाएको आश्वासन पनि बिर्सिएका छैनन् । त्यसैले रजियादेवी पासवान आफ्ना दुःख हामीसित पोख्न अघि सरिन् ।

‘बर्खामा बाढीले पूरै घर भासियो । खानेकुरा, लत्ताकपडा सबै त्यहीं पुरियो, मेरो परिवार नै बाढीमा डुब्यौं’ पासवानले भनिन्, ‘महिन्द्र राय यादव क्यामेरावाला मान्छे लिएर आए । मैले दुवै हात जोडेर गुहार मागें । उनीहरू फोटो खिचेर गए, तर अहिलेसम्म फर्केर आएका छैनन् ।’

यसपालि नेताहरू फर्किएर आउँछन् फेरि भन्नेमा उनीहरू ढुक्क छन्, तर अब नेताहरूले दिने आश्वासनप्रति उनीहरूको पनि भरोसा उठेको छ । ‘अब हामीलाई उनीहरूको आश्वासनमा विश्वास छैन’, स्थानीय प्रमिलादेवी पासवान भन्छिन् ।

महिन्द्र–राजेन्द्र दोस्रोपटक आमनेसामने

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाहीको तत्कालीन क्षेत्र नं. ५ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच चुनावी प्रतिस्पर्धा भएको थियो । राजेन्द्र तत्कालीन सद्भावना पार्टीका अध्यक्ष थिए भने महिन्द्र तराई–मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष । त्यसबेला यादवले महतोलाई २ हजार ७८४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

मधेश आन्दोलनपछि राजेन्द्र र महिन्द्र, महन्थ ठाकुरको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहित ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बनाएपछि उनीहरू एउटै पार्टीमा आबद्ध भए । २०७४ को निर्वाचनमा सर्लाही–२ बाट महेन्द्र लड्ने भएपछि राजेन्द्रले सहमतिमै मधेश आन्दोलनको केन्द्रबिन्दु धनुषा–३ रोजे । महिन्द्र र राजेन्द्र दुवैले चुनाव जिते ।

यसपटक माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका महेन्द्रलाई सत्ता गठबन्धनको साथ छ । सत्ता गठबन्धनकै लोसपाबाट भने राजेन्द्र महतो मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै धनुषा–३ छोडेर सर्लाही–२ मा पुगेका छन् । २०७४ को जस्तो जित्ने आधार न महतोसँग छ न त यादवसँग नै ।

पार्टी र कित्ता फेरबदलले महेन्द्रलाई यो चुनाव चुनौतीपूर्ण रहेको मतदाताहरू बताउँछन् । यद्यपि गठबन्धनकै उम्मेदवार भए महेन्द्रको पल्ला भारी हुने अड्कलबाजी गर्नेहरू पनि भेटिए । महतोलाईं पनि सर्लाही–२ मा चुनाव जित्न सहज देखिंदैन । त्यसैले आ–आफ्नो दाबीसहित चुनावी स्पर्धामा हेलिएका यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।

गत स्थानीय तहको मत परिणामअनुसार सर्लाही–२ कांग्रेसको आधार क्षेत्र मानिन्छ । यो क्षेत्रका पाँच पालिकामा ४९ वटा वडा छन् ।

मलंगवा नगरपालिका, हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र कडैना गाउँपालिका पूर्ण रूपमा यो क्षेत्रमा पर्छ । यस्तै विष्णुपुर गाउँपालिकाको ५, ६, ७ र ८ गरी चारवटा वडा, कविलासी नगरपालिकाको ८, ९ र १० गरी तीनवटा वडा र ईश्वरपुर नगरपालिकाको वडा नं. १५ यसै क्षेत्रमा पर्दछ ।

३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा पाँच पालिका कांग्रेसले एक्लै जितेको थियो । ४९ वडामध्ये कांग्रेसले एक्लै २३ वटा जितेर यो क्षेत्रमा शक्तिशाली दलको हैसियतमा छ । १४ वटा वडा जितेर जसपा दोस्रो दलको हैसियतमा देखिन्छ । लोसपाले ५, माओवादी केन्द्रले ३, एमाले, एकीकृत समाजवादी र राप्रपाले १–१ वटा वडा जितेको हिसाब छ ।

स्थानीय तहमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मत केलाउने हो भने कांग्रेसले ४९ वटै वडामा २४ हजार ६३० मत पाएको छ । १९ हजार ६४२ मतसहित जसपा दोस्रो र १२ हजार ३६६ मत पाएर लोसपा तेस्रो स्थानमा छ । चौथो नम्बरमा माओवादी ७ हजार ७३७, पाँचौंमा एमालेले ७ हजार ६७९ र छैटौंमा एकीकृत समाजवादीले २ हजार २२१ मत पाएको देखिन्छ ।

छिन्नभिन्न गठबन्धन

काठमाडौंमा दलहरूबीच छलफल चलिरहँदा मधेशकेन्द्रित दलहरूले अन्तिम चरणमा आ–आफ्नो गठबन्धन परिवर्तन गरेर फरक कित्तामा पुगे ।

सत्ता गठबन्धनमै रहेको जसपा गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुग्दा लोसपा सत्ता साझेदार दलहरूसँग तालमेल गर्न गयो । जसपाबाटै टुक्रिएर बनेको नेपाल समाजवादी पार्टी सत्ता गठबन्धनमा थियो । त्यो गठबन्धनले मधेशमा दलहरूलाई अप्ठ्यारो पर्‍यो । सत्ता गठबन्धनले महिन्द्रराय यादवलाई आधिकारिक उम्मेदवार तय गरेपछि महतो मित्रवत् प्रतिस्पर्धा गर्छु भन्दै सर्लाही–२ मै पुगे । महतो आएपछि यहाँको गठबन्धन, गठबन्धन जस्तो नै रहेन ।

‘गठबन्धनले मलाई केही फरक परेको छैन । यो गठबन्धन काम–न–काजको गठबन्धन हो’ महतोले भने, ‘प्रत्येक ठाउँमा विद्रोह गरेर मान्छे उठेका छन् ।’ सर्लाही–२ मा प्रतिनिधिसभामा जस्तो प्रदेश सभाका उम्मेदवारको हकमा पनि गठबन्धनले काम गरेको छैन ।

सर्लाही–२ (क)मा कांग्रेसका जंगीलाल राय र २(ख) मा लोसपाका मिथुन चौधरीले टिकट पाएका थिए । तर उनीहरू सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार हुन् भनेर घोषणा नहुँदै २(ख) मा कांग्रेसले आफ्ना तर्फबाट कौशलकिशोर यादवलाई उम्मेदवार बनायो । २ (ख) का कांग्रेसले बागी उम्मेदवारी दिएपछि २ (क) मा फेरि माओवादीले उम्मेदवार उठायो । प्रदेश सभामा पनि महिन्द्र यादव र राजेन्द्र महतोले आ–आफ्ना उम्मेदवार लिएर प्रतिस्पर्धामा छन् । दुवै नेताहरूलाई नेपाली कांग्रेसले साथ दिइरहेको छ ।

एमाले र जसपाको गठबन्धनबाट राजनारायण साह उम्मेदवार छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए तर पराजित भए । यसपटक उनले एमालेबाट उम्मेदवारी दिएका हुन् । सर्लाही–२ को दोस्रो ठूलो दल जसपासँगको तालमेलमा उम्मेदवारी दिएका साह राजेन्द्र–महेन्द्रमाथि देखिएको असन्तुष्टिको भोट तान्ने ध्याउन्नमा छन् ।

‘हामीलाई नयाँ अनुहार, नयाँ मोडालिटीका नेता चाहिन्छ भनेर जनताको माग छ । र त्यो काम गर्ने र जनताको साथमा लामो समयदेखि जुटेको नेता म हुँ भन्ने जनता बुझ्छन्’, साहले भने ।

सर्लाही–२ मा ८ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् । एमाले र जसपाको गठबन्धनबाट राजनारायण साह, माओवादी केन्द्रबाट महिन्द्रराय यादव, राप्रपाबाट विकेश महतो, लोसपाबाट राजेन्द्र महतो, जनमत पार्टीबाट नरेशप्रसाद कुशवाह, हाम्रो नेपाली पार्टीबाट वीरवंश बैठा, बहुजन एकता पार्टीबाट मोहम्मद मनसरिफ अन्सारी, नेपाल संघीय समाजवादीका मोस्तकिम अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जयकरण महतो चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै राजकिशोर राय यादव, मनोजकुमार साह, रामनाथ साह, सतिशकुमार चौधरी, कामिल मिया मुकेरी, सुशीलाकुमारी, राजनारायण राय यादव र श्रवण साह सर्लाही–२ बाट उम्मेदवार भएका छन् ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सर्लाही–२ : नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै
सर्लाही–२ : नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै
https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/mahendra-raya-yadav-3.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_741.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_741.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content