धनगढी । कैलालीको दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । धनगढी-अतरिया ६ लेन सडकखण्ड र हरैयामा शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ६ लेन सडकखण्डमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । यसैगरी गोदावरी नगरपालिका ६ हरैयामा प्रेसर कुकुर जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको र घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद जोशीले जानकारी दिनुभयो । उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको आह्वान गरेको दिन आज कैलालीमा शङ्कास्पद बस्तु भेटिएको हो ।
यसैबीच बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा धनगढीबाट पूर्वी तथा पहाडी रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन चल्न सकेका छैनन् । यस्तै बजार, ब्यवासय, शैक्षिक संस्था बन्द रहेका छन् । धनगढीमा हलुका सवारी साधन फाटफुट चलेका छन् ।
बन्दलाई मध्यनजर गर्दै जिल्लाभर सुरक्षा व्यवस्था थप सुदृढ पारिएको र सुरक्षा संवेदनशीलता हरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया