झापा । भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको आतङ्क रोक्न झापाको सीमावर्ती बाहुन डाँगीमा लगाइएको विद्युतीय घेराबारा (सोलार फेन्सिङ) मर्मतसम्भार गरिने भएको छ ।
नगरपालिकाले विद्युतीय घेरा बाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि रु ३० लाख बजेट छुट्टाएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नगर विकास योजनामै पालिकाले रु २० लाख विद्युतीय घेराबारा मर्मत सम्भारका लागि र कर्मचारीको पारिश्रमिकका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।
विसं २०७२ मा बाहुन डाँगीको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार निर्माण भएको थियो । विद्युतीय तारबारले हात्तीको प्रवेश रोक्न सफलता मिले तापनि एक वर्षयता तारबार जीर्ण भएकाले हात्ती नेपालतिर प्रवेश गर्ने क्रम पुनः सुरु भएको छ ।
तारबार भत्किएपछि भारतबाट दिनहुँ सयको सङ्ख्यामा हुल बाँधेर जङ्गली हात्ती चरनका लागि नेपाल आउने गरेका छन् । सात वर्षपछि बल्झिएको समस्याले हात्ती प्रभावित झापाका अधिकांश पालिकामा त्रासको स्थिति छ ।
हात्तीको उपद्रोबाट सबैभन्दा बढी मेचीनगरकै वडा नं १, २, ३ र ४ का बासिन्दा प्रताडित छन् । हात्तीको आक्रमणमा परी मानवीय क्षति हुन थालेको छ भने धान, मकै, तरकारी लगायतका बाली हात्तीको बथानले सखाप बनाउने गरेको छ ।
पालिकाले विपद् व्यवस्थापन शीर्षकमा छुट्टाएको रु ७५ लाख बजेट मध्येबाट रु ३० लाख रकम हात्ती रोक्नका लागि छुट्टाएको हो ।
रासस
प्रतिक्रिया