
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ मा रहेको पर्यटकीय स्थल सादुटारमा बाह्रै महिना पर्यटकहरू आउने गरेका छन् ।
आकास खुलेर मौसम सफा भएसँगै त सादुटार घुम्ने आउनेहरूको घुइँचो नै लाग्ने गदर्छ । नीलो पोखरी अनि पोखरीको बीचमा कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको छायाँ देखिएको पोखरीनै सादुटार हो ।

हिउँदको समयमा हिउँ पर्ने, पोखरीमा परेको घामले गर्दा आकर्षक हुनाले यहाँ पर्यटकहरू आउने गर्छन् । वर्षाको समयमा हरियाली चौर र चौरको बीचमा रहेको सुन्दर पोखरी हेर्न पाँचथरसहित इलाम, ताप्लेजुङ, तेह्रथुम , भारतको दार्जिलिङ, सिक्कमबाट यहाँ पर्यटकहरूआउने गर्दछन् । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा जाने पर्यटकहरुपनि सादुटार घुमेर जाने स्थानीय बताउँछन् ।

लेकाली बुकीफूलहरु, सल्लाका बोटहरू र फराकिलो चौरको आकर्षणले गर्दा विभिन्न सङ्घ संस्था तथा समूहबाट पिकनिकका लागिसमेत सर्वसाधारण यहाँ आउने गरेका छन् । केही वर्ष पहिले कतै पनि चर्चामा नरहेको सादुटार हाल पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । हरियाली र मनोरम दृश्य बीचमा रहेको पोखरीमा सेल्फी खिच्न र पोखरीको पानी र यहाँको सुन्दर वातावरणसँग रमाउन सकिने भएकोले पर्यटकको मन जित्न सादुटार सफल भएको हो ।

सादुटार पाँचथरको फिदिम नगरपालिका–८ मा पर्छ । सादुटार मेचीराजमार्ग रहेको पौवाभञ्जाङ बजारबाट करिब २ किमि टाढा छ । पैवा भञ्जाङबाट साना सवारीसाधन र पैदल दुवै माध्यमबाट सादुटारमा पुग्न सकिन्छ ।


प्रतिक्रिया