
वीरगंज । सरकारले वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै पर्सामा निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लास्थित सुरक्षा निकायले आवश्यक तयारी सुरु गरेको छ ।
निर्वाचन तयारीका लागि जिल्लामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गर्ने काम सुरु भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको नेतृत्वमा निर्वाचन कार्यालय तथा सुरक्षाकर्मीसहितको संयुक्त टोलीले जिल्लाका १४ वटै पालिकामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको छ ।
टोलीले आज पर्साका छिपहरमाई गाउँपालिकामा रहेका ८ वटा मतदान केन्द्रमा स्थलगत निरीक्षण तथा अवलोकन गरेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झाले बताउनभयो । मतदान केन्द्रहरूको अनुगमनको क्रममा मतदान स्थलको भौतिक अवस्था, बाटो, बाउन्ड्री वाल, शौचालयलगायतको बारेमा टोलीले जानकारी लिएको थियो ।

टोलीले यसअघि धोबिनी, जिराभवानी, कालिकामाई र विन्दवासिनी गाउँपालिकामा रहेका मतदान केन्द्रहरूको समेत स्थलगत अनुगमन तथा निरीक्षण गरेको झाले जानकारी दिनुभयो । अनुगमनको क्रममा गाउँपालिकाहरूमा थप मतदान केन्द्रको स्थापना गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको झाले बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला पहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, नेपाली सेनाका प्रमुख मनोज कार्की, राष्ट्रिय अनुसन्धानका उपनिर्देशकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया