२० मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काले उर्फ कृष्ण गोपाल अग्रवाल पक्राउ परेका छन् । उनी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ को व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका एक हुन् ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो ।
गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए । तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन् ।
प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार गोरेले ल्याउने सुनमा अग्रवालको पनि लगानी रहँदै आएको थियो । उनले २०६९ सालदेखि सुनको अवैध कारोबारमा गोरेमार्फत काम गरिरहेका थिए ।
प्रतिक्रिया