स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एमाले लिवरल पार्टी होला भनेको बीजेपी लाइनमा गयो

SHARE:

नेकपा एमालेलाई अहिले हेर्दा अप्ठ्यारो परिस्थितिमा छ । पार्टी फुटेर कमजोर भएको छ । धनाढ्यहरू एमालेतिरै लागेकोले आर्थिक रूपमा त कमजोर नहोला । व्यापारी, एनजीओ लगायत ठूला-ठूला दातादेखि व्यक्तिगत दाताहरू पनि एमालेतिरै छन् । तर सैद्धान्तिक र राजनीतिक रूपमा भने एमाले धेरै कमजोर भएको छ । उक्त पार्टीको भर्खरै सम्पन्न विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेजहरू सरसर्ती पढ्दा यो निष्कर्ष निकाल्न सकिन्छ ।

२०४९/५० तिर एमालेसँग एउटा धारिलो र प्रष्ट सैद्धान्तिक धार थियो । यद्यपि उसले उदार लोकतान्त्रिक बजारमुखी धार त समाइसकेको थियो तर पनि तुलनात्मक रूपले ऊ एउटा आशलाग्दो शक्ति थियो । किनकि एमालेसँग उदारीकरण भित्रै पनि मुलुकलाई कुन दिशामा लैजाने भन्ने केही राजनीतिक दृष्टिकोण पनि थियो ।

२०४६ साल अर्थात् १९९० तिर राजनीतिक रूपमा विश्व नै नयाँ शक्ति सन्तुलनमा पुग्यो । हाम्रो घरेलु माहोल पनि फेरियो-निरंकुश राजतन्त्रबाट उदार लोकतन्त्रमा । बदलिएको राजनीतिक माहोलमा जनताका जनजीविकाका सवाल र समग्र मुलुक विकासको सम्भावनालाई कसरी सम्बोधन गर्ने भन्ने एउटा सोच एमालेभित्र बन्दैथियो ।

एमालेको ९ महीने सरकारको कामलाई नियाल्दा उदारीकरणको खाकाभित्र पनि केही जनमुखी आर्थिक आधारका खाका बनाउन खोजेको महसूस गर्न सकिन्छ । अझै पनि ती अवधारणाहरू उहाँहरूको दराजमा कतै थन्किएका होलान् । तर, व्यवहारमा विस्तारै, विस्तारै त्यो स्खलित हुँदै आयो ।

पार्टी त्यतिबेला पनि त फुटेकै हो । संगठन र संस्थाहरू एउटा स्थितिमा पुगेपछि टुट्छन् र फेरि संगठित हुन्छन् । त्यो सामाजिक प्रक्रिया हो । यदि उसका सैद्धान्तिक धार र विचार जनमुखी छन् भने टुटफुटबाट प्राप्त सिकाइलाई राम्ररी संयोजन गरेर अगाडि बढ्दा सामाजिक रूपान्तरणलाई धेरै नोक्सान हुँदैन र त्यसमा दुःख मनाउ गर्न जरूरी छैन ।

एमालेको मूल समस्या सैद्धान्तिक धार ह्रास हुँदै गयो । राजनीतिलाई व्यापारको नाफा-नोक्सानको तराजुमा जोख्न शुरू भयो, भइरहेको छ । अहिले त त्यो उत्कर्षमा छ । आज यस्तो स्थितिमा आइपुग्यो कि सैद्धान्तिक धार बोधो हुँदाहुँदा यही तालले जाने हो भने एमाले केही समयमा भारतको बीजेपी (हिन्दूकरण) हुन्छ भन्ने स्थिति आयो ।

नेतृत्वको देवत्वकरण अर्को चिन्ताको विषय हो । हेर्दाहेर्दै एउटा संस्थाभन्दा व्यक्ति माथि हुन थालिसक्यो । फलाना नभई पार्टी चल्दैन भन्ने भाष्य स्थापित गर्दै जति पनि अधिकारको केन्द्रीकरण गर्ने र उसले जेभन्दा पनि मान्ने परिपाटी शुरू भएको छ ।

दशकौं राजनीतिक संघर्ष गरेका नेताहरू विस्तारै राजनीतिक दास हुन तयार देखिन्छन् । यस्तो देवत्वकरणले एमाले बीजेपीकरणको बाटोमा छ । महाधिवेशनपछि कतै केपी शर्मा ओली मोदी हुन्छन् कि भन्ने चिन्ता, डर र खतरा छ । उसो त यो प्रवृत्ति सबै पार्टीहरूमा झांगिदैछ । त्यसकारण जनता सजक र आलोचनात्मक हुनैपर्छ ।

नेपाल धर्मनिरपेक्ष देश हो । एमाले नेतृत्वले जे बोलिरहेका छन्, जुन खालका कुराहरू बाहिर आएका छन्, त्यसले कतै अब रूपान्तरण हुन बाँकी हाम्रा मूल्यमान्यता र संस्कारलाई हिन्दूकरणतिर फर्काउने हो कि भन्ने आशंका छ । एकातिर सामन्ती सोच अझ हावी हुने, महिला र सीमान्तकृत समुदायको विचार लिंदै नलिने समस्या अझ बढ्छ । कार्यकर्ताको आलोचनात्मक सुझाव सुन्दै नसुन्ने र प्रश्न गर्‍यो भने उनीहरूको मुखै बन्द गरिदिने अवस्था बनिरहेको छ । म नै सबै हुँ भनिसकेपछि नेतृत्वलाई प्रश्न गरे कारबाहीमा परिने हो कि भन्ने डर एमाले कार्यकर्तामा छ ।

मैले धेरै देशमा काम गर्ने र त्यहाँको समाज बुझ्ने मौका पाएँ तर नेपाल जस्तो धार्मिक र सांस्कृतिक विविधता र सहिष्णुता भएका मुलुक कम छन् । यद्यपि हाम्रोमा धर्म र संस्कृतिका नाममा महिला र सीमान्तकृत समुदाय माथिको विभेद छन् । तर पनि हाम्रा संस्कारहरू एकअर्काप्रति अन्तरसम्बन्धित छन् । यससँग जोडिएका राम्रा पक्ष भए पनि तिनको गलत प्रयोगले धेरै विभेद सृजना गरिएका छन् ।

दशकौं राजनीतिक संघर्ष गरेका नेताहरू विस्तारै राजनीतिक दास हुन तयार देखिन्छन् । यस्तो देवत्वकरणले एमाले बीजेपीकरणको बाटोमा छ । महाधिवेशनपछि कतै केपी शर्मा ओली मोदी हुन्छन् कि भन्ने चिन्ता, डर र खतरा छ । उसो त यो प्रवृत्ति सबै पार्टीहरूमा झांगिदैछ ।

प्रमुख पार्टीहरू एउटा निश्चित धर्मको खाकाभित्र खुम्चिने हो भने समाज अग्रगमनतर्फ जाँदैन भन्ने कुरा हामीले आफ्नै विगतबाट बुझ्नुपर्छ । चाहे त्यो मठ-मन्दिर बनाउने कुरामा होस्, चाहे एउटा अमूक देवताको नाममा कार्यकर्तालाई नैतिक शिक्षा दिने कुरामा होस् ।

मूल रूपमा महिला र सीमान्तकृत समुदायलाई नैतिक शिक्षाका उर्दी जारी गरेर होच्याउने र अपहेलना गर्ने कुरामा जिम्मेवार तहमा बस्नेले के बोल्नुपर्छ ? के बोल्नुहुँदैन ? भनेर ख्याल पुर्‍याउनुपर्छ । विगतमा एमालेले राजनीतिक मूल्य, मान्यता र इमानदारीको प्रशिक्षण दिन्थ्यो तर आज उसको नेतृत्वले सामन्ती भाषा प्रयोग गरी नैतिक प्रवचन दिने गर्छ ।

पार्टीको नेतृत्व भनेको व्यक्तिभन्दा संस्था हो, ओली हुन् वा अरू कोही । पार्टीको नेतृत्व पूरै ब्राहृमणकरण र पितृसत्तात्मक भएका छन् । पशुपतिमा बस्ने पुजारीले मन्दिरमा जानेहरूलाई पूजा कसरी गर्दा अमूक देव खुशी हुन्छन् र वरदान दिन्छन् भनेर सिकाए जस्तो गरिरहेका छन् नेताहरू । दृश्य योभन्दा फरक देखिंदैन ।

सिंगो पार्टीको लगाव त्यता गइसकेपछि के हुन्छ ? अब ठूलो पार्टी भएर राज्य सत्तामा आउँछ आउँदैन, त्यो फरक कुरा हो तर यदि आयो भने धर्मनिरपेक्षता र छुवाछूतका मुद्दाहरू कहाँ जान्छन् ? जातीय, धार्मिक, भौगोलिक, आर्थिक लगायत विभिन्न स्वरुपका हिंसा र हेलाहोचो भइरहेको छ, त्यो कहाँ जान्छ ? यो सबैभन्दा चिन्ताको विषय हो ।

अहिलेको संविधानले यी मुद्दाहरूमाथि छलफल, समाधान र सम्बोधन गर्नुपर्छ भनेको छ । व्यवहारमा न विकासको खाका आइरहेको छ न समाजवादको । समाजवादउन्मुख संविधानको विकासे खाका र अर्थनीति के हो ? त्यो छैन । हिजोकै पुराना संरचनाहरू र मक्किएको योजना आयोग जस्ताको त्यस्तै छ र उसले त्यही परम्परावादी ढर्राका विकासे योजना ल्याउँछ । यी सान्दर्भिक नै छैनन्, सान्दर्भिक नभएपछि लागू हुन सक्दैन । राज्यका रूपान्तरित हुनुपर्ने पुराना संरचनाहरू दलभित्र पनि गुटका अयोग्य कार्यकर्ता भर्तीकेन्ऽ बनिरहेका छन् ।

संविधानमा राज्यको खाका कल्याणकारी, समाजवाद उन्मुख, समावेशी राज्य प्रणाली लगायत विभिन्न शब्दहरू चयन गरेर राखिएको छ । तर त्यसलाई अवधारणागत रूपमा व्याख्या-विश्लेषण गर्ने, नीति र कार्यक्रममा ढाल्ने काम भएको छैन । यो कामको लागि नेतृत्व गर्न जनताले एमालेलाई बहुमत दियो । आखिर भयो के त ? त्यो हाम्रो अगाडि छँदैछ ।

पार्टीको जीवनमा विरलै आउने त्यस्तो मौकालाई एमालेले गुमायो । यति मात्र होइन, उसले गिजोलेको राजनीतिक प्रक्रियालाई सम्हाल्न अहिले अन्य पार्टीको समेत समय खर्च गराइरहेको छ । एमालेको नेतृत्वमा राजनीतिक प्रक्रियाले सिर्जना गरेका विकृतिहरूलाई पुछपाछ, सरसफाइ र टालटुल गर्दै अहिलेको सरकारको समय बितेको छ । एमाले आफू पनि नगर्ने, अरूलाई काम गर्ने वातावरण पनि नदिने भएर हिंड्न थाल्यो ।

महिलाका मुद्दा र पश्चगामी प्रशिक्षण

महिलाहरूको सवालमा पनि चित्त बुझाउने ठाउँ छैन । ३३ प्रतिशत नयाँ मुद्दा होइन तर पनि लागू हुने सम्भावना देखिंदैन । यो मुखले भनेर यसो एउटा दुइटा कमिटीमा यसो टाकनटुकन आफ्ना गुटका मानिस राखिदिएर हुने कुरा होइन ।

संख्यात्मक रूपमा ३३ प्रतिशत पुग्नु मात्रै पनि ठूलो होइन । यहाँ ३३ प्रतिशतको टाउको गन्ने कि उनीहरूको विचार मान्ने ? विचार मानिएको त पाइँदैन । संविधानसभामा थिए र अहिले पनि संसदमा करीब करीब छन् । ‘चूप लाग, तिमीहरू ट्याउँ ट्याउँ नगर’ भन्ने त त्यही आखिर नेतृत्व नै होइन र ?

एउटा सामन्ती परिवारमा बाबुले छोरीलाई, दाजुले बहिनीलाई वा ससुराले बुहारीलाई गाली गरे जस्तो भइरहेछ पार्टीका महिला सहकर्मीसँगको व्यवहार । विस्तारै गलत र विभेदपूर्ण वातावरण संस्थागत गर्ने परिपाटी बनिरहेको छ । यो एकदमै सामन्ती, पुरातनवादी, कुनै पनि सोच र संरचनामा कुनै पनि सहअस्तित्वको गुञ्जायस नभएको पश्चगामी प्रशिक्षण हो ।

एमालेभित्र महिला पहिलाभन्दा तुलनात्मक रूपमा चूपचाप देखिन्छन् । महिला नेतृहरू या त बोल्न नचाहेका हुन् या त बोल्न नसकेका हुन् वा बोल्ने कुनै एजेण्डै सकिएको हो । एजेण्डा त ज्यूँकात्यूँ छन् । समाधान भएका छैनन् । या त बोल्न डराएको हो या त नबोल भनेर चूप लगाइएको हो ।

उनीहरूलाई मुख बन्द गराइदिएको हो कि अथवा म बोलें भने मैले अहिले पाएको सुविधा र अवसर पनि गुम्छ भन्ने डर सिर्जना गरिएकोले महिला नेतृहरू नबोलेका हुन् । त्यो म जान्दिनँ उहाँहरू नै जान्नुहुन्छ । तर, केही त हो । केही होइन भने किन तुलनात्मक रूपमा कनिष्ट पुरुषहरू संवादमा सहभागी हुन्छन् र आफ्ना कुरा प्रष्टसँग सार्वजनिक रूपमै राख्छन् ? तर महिलाको त्यो स्थिति देखिंदैन र मुद्दाहरू अगाडि बढिरहेका छैनन् ।

एमाले क्षयीकरणका मोड

२०५१/५२ सालसम्म सैद्धान्तिक रूपमा एमाले सबल थियो । किनकि त्यतिबेलाको नेतृत्व खारिएको, तुलनात्मक रूपमा पारदर्शी, परिपक्व र इमानदार थियो । २०५४ सालमा पार्टी फुटेपछि एकातिर संस्थागत संरचना कमजोर भयो भने अर्कोतिर एनजीओकरण र दलालीकरण हुँदैगयो । बजार हावी हुन थाल्यो ।

पार्टीका निर्णयहरूमा पैसाको प्रभाव र गुटगत साँठगाँठ हावी हुन थाल्यो । हिजो राजनीतिमा मूल्य, मान्यता र दर्शनका कुरा हुन्थे, अब ठेक्कापट्टा, घूसपैठ, कमिसन र पैसाका कुरा हुन थाले ।

हिजो सांगठनिक कामको आधारमा हुने मूल्यांकन अहिले कार्यकर्ताको पैसा र पहुँचको आधारमा हुन थालेको छ । जनताका समस्याप्रति संवेदनशील र जनस्तरमा जोडिएका नेताहरूको मूल्यांकन हुन छाडेको छ भने तस्कर र दलालसँग नजिक नेताको प्रशंसा र उच्च मूल्यांकन हुन थालेको छ ।

पहिला पार्टीले राजनीतिक मुद्दाहरूको नेतृत्व गरेका थिए । राजनीतिक पार्टी एउटा राजनीतिक विचारद्वारा निर्देशित थियो । तर २०५१/५२ सालपछि राजनीतिक पार्टीहरू एनजीओकरण भए । हामीलाई थाहा छ- धेरै अगाडिदेखि एमालेको महाधिवेशन एनजीओहरूले चलाइरहेका छन् ।

एमालेलाई उदाहरणको रूपमा लिइरहेका छौं, सबै पार्टीहरूको थोरबहुत त्यही नै हो । एमालेमा अलि बढी छ, अलिक चरम स्थितिमा पुगेको छ । अरू पछि-पछि आउँदैछन् । पार्टीहरूले समाज विकासमा एनजीओको भूमिका प्रष्ट पारिदिनुपर्नेे, मुलुकको कुन ठाउँ र क्षेत्रमा गैससको भूमिका सान्दर्भिक छ भनेर दिशानिर्देश, अनुगमन र आवश्यक पर्दा नियन्त्रण पनि गर्नुपर्ने हो ।

उदारवादी राजनीतिक प्रणाली अपनाइसकेपछि एनजीओ बन्द गरेर त हुँदैन । यिनीहरूको आफ्नै भूमिका हुन्छ । तर हामीकहाँ भइदियो उल्टो- एनजीओले राजनीतिक पार्टीहरू चलाइदिन थाले, नेताहरूलाई चुनाव जिताइदिन थाले । कूटनीतिक भूमिकामा हस्तक्षेप गर्न थाले, न्यायालय लगायत राज्य र पार्टी संरचनाका कुर्सीहरू धमाधम किनिदिन थाले ।

ट्रेड युनियन, महिला संगठन, विद्यार्थी संगठन, युवा संगठन, किसान संघ लगायत पार्टीका जनवर्गीय संगठनलाई एनजीओले लगानी गर्न थाले । यसले विस्तारै राजनीतिक धारमा खिया लाग्दै गयो । एनजीओको धार, एनजीओ दलालीकरणको धार धारिलोे हुँदै प्रभावकारी हुँदै आयो ।

अहिले एमालेभित्र फस्टाएको विकृति वर्षौंदेखि अगाडि बढ्दै आएको दलालीकरण प्रक्रियाको नतिजा हो । यसले राजनीतिक धारलाई बोधो बनाउँदै अर्को धारलाई तिखो बनाउँदै यस्तो परिणाम निकाल्न भूमिका खेल्दै आयो ।

पछि गएर बढी चन्दा दिने, चुनाव जिताउने, सांसद बनाउन सघाउनेलाई राजदूतमा नियुक्ति दिन थालियो । यस्तो विकृति पार्टीभित्र फस्टाइरहेका छन् । दलको प्राथमिकीकरण बदलिइरहेका छन् । हेरौं त- संघीय होस् वा प्रदेशमा एनजीओलाई प्रयोग गरी आउने सांसदहरू कति छन् ?

एनजीओमा लागेकाहरू राजनीतिमा आउन हुन्न भन्न खोजेको होइन । कसरी राजनीतिक पार्टीको सैद्धान्तिक धारमा खिया लाग्दै गयो र उदारवादी बजार केन्द्रित मूल्यमान्यता र दर्शन हावी हुँदै राजनीतिक दर्शनलाई निल्न थाल्यो ? यसलाई नजरअन्दाज गर्न सकिंदैन । यो पछिल्लो दुई-चार वर्ष अगाडिबाट शुरू भएको होइन । ३० वर्षदेखिको यात्रा हो, यो ।

विस्तारै विस्तारै राजनीतिक धार बोधो हुँदै गैर-राजनीतिक धार धारिलो हुँदै आउँदा अहिले हरेक कुरा एनजीओको स्पोन्सरसिपमा हुन्छ । एनजीओको पैसा त्यसै त फल्दैन, कहाँबाट ल्याउँछ ? विदेशी दाताबाट ल्याउने हो । म आफैं विदेशी संस्थामा काम गरेर कतिपय एनजीओलाई अनुदान-फन्डिङ गरेको मान्छे हुँ र मेरा आफ्नै अनुभव छन् ।

स्वीकृत अनुदानको अनुगमन र लेखा परीक्षण गर्दा त्यो फण्ड कहाँ गयो भनेर खोज्दा कारबाही पनि गरेको छु । बझाङका दलितको लागि भनिएको अनुदान काठमाडौंका महँगा गैसस हाकिमका घरभाडा र विदेश भ्रमणमा खर्च भएको पाएँ ।

साबिकका गाविसमा निर्वाचित महिला र सीमान्तकृत सदस्यको लागि क्षमता अभिवृद्धि तालिमको रकम गैससका हाकिम संलग्न पार्टीका कार्यकर्तालाई चुनाव खर्च गरेको पाएँ । ती हाकिममध्ये कैयौं त अहिले सिंहदरबार र प्रादेशिक दरबारहरूमा जनताको करबाट आफ्नो विलासी जीवन खर्च चलाइरहेका छन् । तर ती दलित, सीमान्तकृत र महिलाको जीवनमा तात्विक परिवर्तन त भएको छैन ।

बरु जनताका छोराछोरी खाडी मुलुक र भारतमा यिनै दलाल नेतालाई पाल्न पसिना बगाइरहेका छन् । यो सामाजिक, राजनीतिक र आर्थिक विभेदपूर्ण विरोधाभासको जिम्मा कसले लिने ? यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता उदाहरण धेरै छन् ।

राजनीतिमा दलालीकरण

अर्को पक्ष बजार हेरौं । बजार भन्नाले एनजीओ पनि होइन, राजनीतिक पार्टी पनि होइन, यो त पूँजी बजार हो । एनजीओका मान्छेहरू र राजनीतिक पार्टीका कार्यकर्ताहरू एउटा तहमा गइसकेपछि उनीहरू नाफामुखी बजारतिर लाग्न थाले । ठेकेदार हुने, ठेकेदारका दलाल हुने, रियल स्टेटमा छिर्ने, म्यानपावरका नाममा मानव तस्करीलाई मलजल गर्ने, उपभोक्ता समितिहरू मार्फत बैंकिङ सेक्टरमा छिर्ने ।

जता जता पैसा छ, त्यतातिर छिर्ने । राजनीतिक मूल्यमान्यता छोडेर बजारको मूल्यमान्यतालाई आत्मसात् गर्न थाले । अब तुलना हुन्छ- कुन मूल्यमान्यताले फाइदा हुन्छ ? स्वाभाविकै रूपमा पैसातिर गएपछि नाफामुखी बजारले फाइदा हुने भयो । आज-भोलि गर्दागर्दै सानोतिनोे दलाल भइन्छ, अनि अलि ठूलो दलाल भइन्छ लोभ बढ्दै गयो र सिट किन्न थालियो ।

अदालतको सिट किन्ने कि राजनीतिक सिट किन्ने ? संसदको सिट किन्ने कि कूटनीतिक सिट किन्ने ? यसरी विकास भएको हो राजनीतिमा दलालीकरण । यो सबै जेलिएको छ । एनजीओले मात्रै गर्‍यो अथवा पूँजीबजारले मात्रै गर्‍यो अथवा ठेकेदारले मात्रै गर्‍यो भन्दा पनि यो सबै जेलिएको छ । यसको सञ्जाल छ अनि त्यो सञ्जाललाई राजनीति संरक्षण छ बन्ने कुरा त घाम जत्तिकै छर्लङ्ग छ सबैलाई ।

यसमा शुरूमा एमाले अरू पार्टी भन्दा उदार भएर आइदियो । अलिक खुल्ला पनि भइदियो । र एमालेको शुरुमा चमक र माहोल थियो, त्यसले २०५१/५२ पछि पनि ठूलो पार्टी भएर आयो । त्यसपछि एमालेको रणनीति के भइदियो भने विभिन्न क्षेत्रमा मान्छे घुसाउने ।

मान्छेहरू छिराइसकेपछि राजनीतिक संगठन गर्ने भन्दा बजारीकरणको संगठन अर्थात् नाफामुखी संगठन बनाउनतिर लाग्ने भयो । परिमाणतः राजनीतिक काम गर्न राजनीतिक संगठन चाहियो । बजारमुखी संगठन गर्न दलाल चाहियो । यसरी दलालीकरण हुँदै-हुँदै गयो । यो सबै एक-दुई वर्षमा भएको होइन, यो लामो कालखण्डमा भएको हो ।

अहिले एमालेभित्र फस्टाएको विकृति वर्षौंदेखि अगाडि बढ्दै आएको दलालीकरण प्रक्रियाको नतिजा हो । यसले राजनीतिक धारलाई बोधो बनाउँदै अर्को धारलाई तिखो बनाउँदै यस्तो परिणाम निकाल्न भूमिका खेल्दै आयो ।

एमालेबाट आश गर्ने स्थिति छैन

अब एमालेबाट आश गर्ने स्थिति छैन । भोलि सुध्रिन पनि सक्छ । महाधिवेशन आउँदैछ । मान्छेलाई जहिले पनि सुध्रिने मौका छ । उनीहरूले गल्ती मनन गरेर सुध्रने इच्छाशक्ति देखाए भने सुध्रन पनि सक्छन् । सुध्रियो भने आशा गर्न सकिएला । तर अहिलेकै तालमा आफूलाई सच्याउने प्रयास गरेन भने एमालेबाट आश गर्न सकिन्न ।

एमालेको अहिलेको नेतृत्व संविधान खत्तम पार्न लागेकै हो विगत दुई तीन वर्षदेखि त्यो सम्भव भएन । एमालेको नेतृत्वमा वा एमालेले फेरि जिम्मा पायो भने संविधान जोगाउँछ भन्नेमा ठूलो प्रश्नचिन्ह खडा भएको छ । चिन्तनमा दलालीकारण, नेतृत्व निर्माणमा दलालीकरण, व्यवहारमा दलालीकरणबाट व्यवस्था राम्ररी अगाडि बढ्न सक्दैन ।

तथापि, अझै पनि समय छ । एमाले कार्यकर्तालाई दशौं महाधिवेशनमा आफूलाई राम्रोसँग सुधार गर्दै हिजोकै धारमा ल्याउने अवसर छ । पार्टी नेतृत्वलाई सबक सिकाउने, प्रश्न गर्ने, आलोचनात्मक रूपले विश्लेषण गर्ने र पार्टीलाई उसको मूल्यमान्यतामा ल्याएर अझै पनि एमाले यो मुलुकको भविष्य हो, एमालेले मुलुकमा भएको परिवर्तनलाई संस्थागत गर्न सक्छ भन्ने आश जगाउने मौका अहिलेको महाधिवेशनमा छ ।

एमालेभित्र योगदान गर्ने थुप्रै हुनुहुन्छ । उहाँहरू पनि विकल्प हुनुपर्छ । विकल्प हुँ भन्नेहरू पनि तयार भएर जानु पर्‍यो । त्यो खालको सम्भावना अझै पनि हराएको छैन । तर, आश धेरै कम छ । किनभने जुन खालको माहोल बनिरहेको छ यो माहोल फेरिएन भने आशा कम छ । राजनीति हो माहोल नफेरिएला भन्न सकिन्न ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: एमाले लिवरल पार्टी होला भनेको बीजेपी लाइनमा गयो
एमाले लिवरल पार्टी होला भनेको बीजेपी लाइनमा गयो
https://www.onlinekhabar.com/wp-content/uploads/2021/11/Meena-paudel.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_772.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/11/blog-post_772.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content