हामी बसेको घरअगाडि पनि अरू केही घरहरू छन् । यहाँबाट हाम्रो यात्रा पश्चिमतिर हुँदैछ । अब चङ्खेलीबाट ओरालो लागेपछि मुगु छोडिने मात्र होइन, मुगुको दृश्य पनि १६ हजार फिट अग्लो चङ्खेलीले छेकिदिन्छ ।
हामी झोला बोकेर हिंड्ने बेला हिक्मतीले भनिन्, ‘यो ठाउँबाट माथि लागेर उकालो गएपछि डाँडाको टुप्पाबाट परको रारासहित वरिपरिको सुन्दर जङ्गल अनि छायाँनाथ सहितका धेरै राम्रो हिमाल पनि देखिन्छ रे जानु न सरहरू ।’
उनले रे भनेकी भएर मैले सोधें, ‘तपाईं कति चोटि जानुभएको छ ?’ उनले हाँस्दै भनिन्, ‘काँ जानु सर, हामी त गएको छैन । त्याँ गएर खान आउँछ त ?’
मैले चिनियाँ साहित्यकार याङ मोद्वारा लेखिएको ‘युवाहरूको गीत’ उपन्यासको एउटा प्रसङ्ग सम्झिएँ । हुन त धेरै अगाडि पढेको हुनाले ठ्याक्कै चित्र भुलियो होला तर भाव भुलिंदैन । चिनियाँ क्रान्तिमा आधारित त्यस कथाकी नायिका लिन ताओ चिङ भूमिगत जीवनकै सिलसिलामा समुद्रको बाटो हुँदै कतै जाँदा समुद्रको दृश्य देखेर मोहित हुँदै साथै भएको भरियालाई भन्छिन्, ‘दाइ हेर्नुस् त क्या सुन्दर समुद्र !’ यो सुनेर भरियाले भन्छन्, ‘माछा मारेर भोक मार्न नसके समुद्रको सुन्दर दृश्य के काम ?’
हिक्मती र उनका श्रीमान्का आफ्नै बाध्यता छन् । उनीहरूलाई त्यो दृश्यले खान दिंदैन । हाम्रो पनि आफ्नै बाध्यता छन्, परिबन्दले जान दिंदैन सुन्दै कस्तो स्वर्गीय होला जस्तो लाग्ने त्यो दृश्य हेर्न तर दुर्भाग्य यहाँसम्म आएर त्यहाँसम्म जान सकिएन ।
माथि गएर त्यो दृश्य हेर्न नसके पनि हामी हिंड्दै गरेको ठाउँ पनि धेरै सुन्दर छ । भर्खरै परेको हिउँलेे पहाडहरू सेतै छन् । ठूला ठूला भोजपत्रकोे पात झरेर हिउँ सुहाउँदो भएको छ । बीच बीचमा हरिया सल्लाका रूखहरू अझ सुन्दर देखिन्छन् । हामी सडक हुँदै ओरालो लाग्यौं अग्ला धूपी, सल्ला, ओखर तथा भोजपत्रका रूखहरूको जङ्गल हुँदै ।
भुईंमा कताकति ओखर देख्न सकिन्छ । साथीले भने, ‘हाडे हो फुटाउन सकिंदैन ।’ अनि मैले बटुलेका ओखर पनि फालिदिएँ । जङ्गलबीचमा चौडा सडक बन्दैछ । सडकको नयाँ माटोमा हिउँ छपक्कै छ । हिउँमा हिंड्न नजाने लड्न सकिन्छ । चिप्लोबाटोमा हामी बडो सावधानीका साथ हिंड्दैछौं । केही रित्ता केही जडीबुटी बोकेका खच्चडहरू गमगढीतिर जाँदैछन् । चङ्खेलीबाट अलि तल खोलामा पुगेपछि १५/२० जना पुरुषको एउटा समूह भेटिन्छ । उनीहरूको ताँती र समान बोकाई हेर्दा एउटा सानोसानो गाउँ नै उठेर हिंडेको जस्तो देखिन्छ । हूलमा १७/१८ वर्षका उत्ताउला ठिटादेखि ५०/५५ वर्षसम्मका सबै पुरुषहरू आफ्नो जिन्दगीको भारी बोक्दै आफ्नो जिन्दगी घिर्सादै छन् । म पूर्वको मानिस उनीहरूले बोलेको नेपाली भाषा नै भए पनि सबै बुझ्न सक्दिनँ । हिजो बेलुका आगो तापेको बेला अछामबाट हुम्ला काम गर्न हिंडेको टोली पनि त्यहाँ आइपुगेको थियो । एक टुक्रा कालो फम र एउटा ओढ्ने पातलो दरी समेत आफैंले बोकेर हिंडेका थिए उनीहरू । राति त्यही ओढेर सुत्ने बताउँदै थिए उनीहरू । उनीहरूलाई कति जाडो भयो होला ? सम्झेर अहिले पनि मन खिन्न हुन्छ ।
यिनीहरू यहाँ ठेकेदारसँग काम गर्न आएका हुन् भन्ने कुरा मैले अघिल्लो दिनै थाहा पाएको थिएँ । कतिपय ठाउँका मानिसहरूको नेपालबाट भारत नै काम गर्न जाँदा पनि ठेकेदारसँगै जाने चलन रहेछ । यहाँ पनि ठेकेदारसँग आएका उनीहरूको खाना बाहेक दिनको ६०० ज्याला आउने रहेछ । कामदार लैजाने ठेकेदारको सडक ठेकेदार वा निर्माण गर्ने पक्षसँग सम्पर्क हुने रहेछ । यसरी कामदार लैजाने व्यक्तिले कामदार लगे बापत एकमुष्ट कमिसन वा कामदारले काम गरेको आधारमा कमिसन पाउने गर्दछन् । जस्तो एकजना कामदारले एक दिनको ज्याला ७०० पाउँछ र सोही ज्यालाबाट रु.१०० कामदार लैजाने ठेकेदारले पाउने रहेछ । यसरी काम गर्ने मानिसको भागमा ६०० मात्र पर्ने रहेछ ।
एकजना कामदारका अनुसार भारतमा जति त यहाँ कमाइ हुँदैन तर यस्तो महामारीको बीच यही पनि ठूलो कुरा हो । उनी भन्छन्, ‘यहाँ काम लगभग ६ महीना चल्ला, जाडोमा बस्न र बच्न सके काम गरौंला, नभए गाउँ जाउँला । भर्खरै चाडबाड सकियो । सधैं घर बसेर के खाने ?’
बेलुका हामीसँगै बास बसेका साथीहरू अगाडि अगाडि हिंड्दै छन् । यसै पनि सातथाप्लेमा बसेर काम गर्ने उनीहरूसँगको हाम्रो यात्रा सकिंदैछ । गमगढीबाट हिंडेदेखि बाटामा मानिसहरू सडक बनाउँदै भेटिन्छन् । र्याप भन्ने संस्थाले स्थानीयलाई र मेसिन दुवै परिचालन गरेर यहाँको सडक निर्माण गर्दैरैछ ।
महामारीसँगै मानिसहरूले आय गुमाएको बेला यसले एकातिर स्थानीयको विकासमा सहभागिता भयो अर्कोतिर स्थानीयको दैनिकी सरल बनाएकै होला । सडकमा काम गरिरहेका मानिसहरू कोही चिया तताएर खाँदै थिए । कोही खाजा खाँदै थिए । सबै महिला-पुरुष सराबरी भएको साना-साना समूहमा कोही तमाखु पनि तान्दै थिए । एक घुम्ती तल झरेपछि एक हूल आमाहरूसँग जम्काभेट भयो । आमाहरू मध्येबाट एक जनाले हाम्रो क्यामरा देखेर उतैको लवजमा भन्नुभयो, ‘हाम्रो नि फोटो खिचिदिए हुने !’
मैले फर्केर क्यामरा तेर्स्याउँदा आमाहरू उभिए । दुनियाँमा सबैभन्दा असल मन नै आमाहरूको हुन्छ । तस्वीर खिचेर मैले उनीहरूलाई देखाएँ । आमाहरू खुशी हुँदै, हाँस्दै हिंडेपछि हामी पनि अघि बढ्यौं ।
हामीलाई चङ्खेलीबाट सातथाप्ले आउन करीब दुई घण्टा लाग्यो । यति बेलासम्म बाटोभरि बाँझो जमीनहरू नै देखिएको थियो । यहाँ भने बाटाभन्दा तलतिर बन्दा रोपिएको देखिन्छ । तरकारी खान योग्य भएको बन्दालाई तुषारो र हिउँबाट बचाउन हरेक बोटलाई पोलिथिन वा कपडाले ढाकिएको छ । पहिले यस क्षेत्रमा यसरी तरकारी खेती गरिंदैनथ्यो रे ! मसँग हिंडेका साथी माथिल्लो क्षेत्रको कृषि र खेतीपातीबारे जानकार छन् जसले गर्दा मलाई यो क्षेत्रको खेतीपाती, हावापानी लगायत धेरै कुरामा जानकारी पाउन सजिलो भएको छ ।
चिया पनि पिउने र थोरै थकाइ पनि मेट्ने उद्देश्यले हामीले सातथाप्लेमा झोला बिसायौं । सडकमाथि सडकमुनि गरेर तीन-चार घरहरू छन् । वरिपरि अन्य सडक निर्माणमा सामान र डोजरहरू छन् । हुन त अगाडि कहाँ पुगिन्छ थाहा छैन तर हाम्रो खाना खाने बेला भएको थिएन । चिया खाएर पैसा तिरेपछि हामी फेरि अगाडि लाग्यौं ।
भर्खरै हिउँद लागेर खैरो खैरो भएको पाखामा बिहान घाम परेर सुनौलो भएको छ । अगाडि बाटामा फेरि अछामी भेटिए । यी मानिस तिनै थिए जो महामारी शुरु हुँदा कष्टपूर्ण लाम लागेर भारतबाट फर्किएका थिए र महामारीको बीचमै चाडबाड पनि भन्न नपाई फेरि उस्तै लाम लागेर भारत फर्किएका थिए । हरियाणा, पञ्जाव, कोलकाता, बम्बई, दिल्ली लगायत भारतका धेरै शहर डुलेका उनीहरू यतिबेला चङ्खेलीको लेकबाट ओराली लाग्दैछन् ।
पर कतै खच्चड हामीतिर आउँदैछ । खच्चडले हामीलाई छाडेर चङ्खेलीतिर लाग्न लाग्दा एक जना पुरुष बोल्छन् । उनका वरिपरि हिंडेका अरु गलल्ल हाँस्छन् । ती हाँस्नेहरू नजिकै हिंडेका हामी अलमलमा पर्छौं । अलि पछि थाहा भयो, उनले आफू परिवारबाट सधैं टाढा हुन परेकोले आफ्नो भन्दा बरु खच्चडको जिन्दगी सजिलो हुने भनेका रैछन् । गधा र घोडीबाट जन्मेको खच्चडको यौन क्रियाप्रति रुचि नहुने भएकोले उनलाई यस्तो लाग्दो रहेछ ।
यही भीडमा एकजना भर्खर जुँगाको रेखी बसेका एक नवयुवा पनि छन् । उनका जुँगाका रेखी जस्तै उनका सपनाको पनि पखेटा लागे कि पिंजडामा थुनिएको चराको जस्तै पखेटा काटिए । वा, जिन्दगीले सपनाहरू पनि अरूकै नाममा गरिदियो कि ? उनले बाटोमा भेटिएको हाडे ओखर टोकेर फोर्न खोजे तर फुटेन अनि बजारेर फालिदिए । यसै बेला उनका बाउ-काका जस्ता देखिनेले जिस्क्याउन थाले- ‘जोईकन सम्झिएर झ्वाक्या छस् त ? नआत्तिए बैंसमा यस्तै हुन्छ ।’ ठिटालेे जवाफ फर्कायो- ‘तिमीले चिं कुन तरुनी सम्झिएछौ कुन्नि तेरीमा बुढा कुरा गर्छौं ?’
पछि तिनै तन्नेरीसँग कुरा हुँदा उनले आफ्नो कथा सुनाए । कक्षा ८ मा विद्यालय जाँदाजाँदै अर्जुन विकलाई जीवनको धेरै घामपानीले सतायो । एकल आमा रोगी छन् । भाइबैनी सानै छन् । आमैले कर गरिन् र यसपालि उनले विवाह पनि गरेका छन् ।
उनकी श्रीमती उनी हिंड्ने रात ‘नजाऊ’ भन्दै छातीमा टाँसिएर रुँदैथिइन् रे ! उनी भन्छन्, ‘बाटाभरि त्यसैलाई सम्झिन्छु, छाडेर आएँ नि त !’ सधैं कालापहाड जाने-आउने उनका बा एकपटक घर आउँदा धेरै बिरामी थिए । केही समय रोगाए र उनी मरे । उनीहरू सानै भएकाले के भएर बाबु बिते त्यो त थाहा छैन तर जति अर्जुन हुर्कंदै गए, उति उनको काँधको जिम्मेवारी ठूलो हुँदै गयो । अहिले उनी आफैं पनि कालापहाड धेरै पटक गएका छन् ।
पञ्जाब, राजस्थान, कोलकाता र हरियाणासम्म पुगेका छन् । ‘बा बितेपछि उहाँको दुःख सकियो अनि मेरो शुरू भयो’ भन्ने उनलाई पहिला यसरी हिंड्न रहर हुन्थ्यो रे तर अहिले आफ्नै देश पनि विदेश भन्दा बढ्ता भएको छ ।
समृद्ध नेपालको कखरा पनि पढ्न नपाई उनले सिङ्गो जिन्दगी पढ्नु पर्यो । हुन त उनलाई पनि राजनीतिमा खासै चासो छैन । सानो हुँदा भन्दा गाउँमा अचेल धेरै नेता भएको बताउने उनी गरीब दुःखीको दैनिकी भने नफेरिएको बताउँछन् । चुनावको बेला उनी भारत हुनाले भोट राख्न पाएनन् रे (उनको उमेर पुगेको पनि थिएन) । उनले चिनेका ठूला नेता मात्र भीम रावल रहेछन् जो उनकै जिल्लाका प्रतिनिधि पनि हुन् ।
करीब १२ बजेतिर जाच्या पुगियो । जाच्या पुग्दा होटल पनि भेटियो । हामीले खाना खान झोला बिसायौं । सँगै आएका अछामी टोली ठूलो भएको हुँदा साहुनीलाई भ्याई-नभ्याई छ । एकातिर खाना पाक्दैछ । गेडामा (माथिल्लो कर्णालीमा सिमीलाई गेडा भन्ने चलन छ) रस राखेको छ । तरकारी चोता पाक्न बाँकी नै छ । अछामी टोली बाहिर आगो बालेर तरकारी पकाउन थाले । हामी आगोको छेउमा बसेर भोटेमर्चाको चिया पिउँदै पसिना सुकाउन थाल्यौं ।
ठूलो कुकरमा खाना पाक्दैथियो । साहुनीले हामीलाई खाना खान बोलाइन् । गमगढीबाट बोकेर लगेको चामलको भात, गेडाको रस, अनि चोताको तरकारीमा चोताकै सलाद बनाएर हामी खाना खान थाल्यौं । खाँदै गर्दा हामीलाई तरकारी दिएपछि साहुनीले गेडा पकाएको भाडामा थप पानी हालेर उमालिन् । हामीले सोध्यौं- ‘किन त्यसो गरेको ?’ उनले भनिन्, ‘धेरै मान्छे भएकोले सबैलाई पुर्याउन ।’
जिन्दगीले ठगेका मानिसहरूलाई साहुनीले पनि ठगिन् । आफू जस्तै घर छोडेर हिंडेका उनीहरूका लागि त्यस्तो खाना बन्दैछ भन्ने थाहा पाउँदा आफूले खाएको गाँस घाँटीमै अड्कियो तर नखाई अगाडि जान सकिंदैन ।
हामीले खाना खाएको होटलको साहुनीको उमेर ३५ वर्ष रै’छ । भागेर विवाह गरेकी उनका अहिले सात जना सन्तान छन् । जेठो सन्तानको विवाह भएर नातिनातिना पनि भइसकेका उनको काखको सन्तान भने सानै छ । श्रीमान् गाउँमा बसेर काम गर्छन्, गाईबस्तु पाल्छन् । उनी यहाँ केही सन्तानसहित बसेर व्यापार गर्छिन् ।
कोरोना आएपछि भने समस्या परेको बताउने उनले पहिले राम्रो कमाइ गरेकी थिइन् रे ! खाना खाएपछि हामी फेरि हिंड्न थाल्यौं । धेरै ठाउँमा सडक बनेर सडकै सडक हिंड्न मिले पनि कतिपय ठाउँमा यस्तो बाटो हिंड्दा समय र थकाइ दुवै लाग्छ । डोजरे विकासले गोरेटो बाटो नछाडेको ठाउँमा बाहेक हामीे सकभर गोरेटो नै रोजेर हिंड्यौं ।
अगाडि रिमी गाउँ देखिन्छ । वारिबाट नै बाक्लै घरहरू देखिने गाउँको बीच भागमा विद्यालय छ । बाटामा दुई जना सिस्नो टिपिरहेका नानी देखेर मैले फोटो खिच्न खोज्दैथिएँ । मैले फोटो खिचेको देखेर नानीहरू गाउँ नै उचाल्ने गरी रुन थाले । हामी ‘के गर्ने ? के भन्ने ?’ भयौं । वरिपरि हेरौं कोही छैन । कसैको कानमा नानीहरू रोएको सुनिए के ठान्लान् ? के भन्लान् ? के गर्लान् भन्ने डरले सात्तो गयो ।
हामी उनीहरू नजिकै गयौं । हामीले नमस्कार सहित बिन्ती भाउ गरेर भन्यौं, ‘नानीहरू नरुनु, हामी नराम्रो मान्छे होइन ।’ हाम्रो अनुरोधपछि उनीहरू रुन छाडेर हामीसँग कुरा गर्न थाले ।
दुईमध्ये एकजना कक्षा ३ र अर्को कक्षा ४ मा पढिरहेका नानीहरू रहेछन् । उनीहरू लकडाउन (२०७७ चैत) शुरु भएपछि विद्यालय गएका छैनन् । शिक्षक, शिक्षिका पनि उनीहरूलाई भेट्न आएका छैनन् । जाबो एउटा फोनसम्म गर्न नसकिने यस्तो ठाउँमा अनलाइन कक्षा कुन चरीको नाम हो भने जस्तै हो । यस्तो क्षेत्रमा विकासका अन्य कुराहरूको बहस उही राजनैतिक दलको घोषणापत्रमा मात्र सुहाउँछ । नानीहरूसँग एकछिन कुरा गरेपछि उनीहरूको अनुमति लिंदै एउटा फोटो खिचेर अगाडि बढ्यौं ।
रिमी कटेपछि बाटामा फाट्टफुट्ट पसल त भेटिन्छ तर खाउँ जस्तो खानेकुरा भेटिंदैन । चाउचाउ, बिस्कुट त जताततै छ । तर मकै, रोटी कतै भेटिंदैन । बाटामा एउटा सानो बालक दुई हातमा वाइवाइ लिएर आएको भेटियो । हामीले सोध्यौं, ‘किन चाउचाउ ल्याएको भाइ ?’ उनले सहजै भने, ‘मलाई मीठो लाग्छ नि त्यही भएर !’ उनले एक प्याकेट चाउचाउको ५० रुपैयाँ पर्छ भन्दा हामी छक्क पर्यौं ।
यसरी मीठो लाग्ने जिनिसमा पनि अंकित मूल्य भन्दा ३२ रुपैयाँ बढी तिर्नुपर्छ यहाँका स्थानीयलाई । चामल तथा अन्य खानेकुराको पनि हालत उस्तै होला । देशको केन्द्र भन्दा धेरै पर रहेको यिनीहरूको मर्का सत्ता तानातान गर्नेहरूले कसरी सुन्लान् ?
हुन त यहाँको खाद्यान्नमा कुरा हुँदा फुड हृयाबिटको पनि चर्चा हुने गरेको छ तर खानाको उपलब्धता, हैसियत र पहुँचमा पर्याप्त बहस नगरी फुड हृयाबिटको कुरा न्यायसङ्गत पटक्कै नहोला ।
हामी हिंडिरहेको ठाउँ अलि फुङ्ग उडेको जस्तो छ । बेला बेला उच्च गतिमा कुद्ने बाइक, सामान लिएर हिंड्ने एकाध ट्याक्टर, घोडा र खच्चड बाहेक हामी दुई भाइ हिंडिरहेका छौं । बाटामा चुत्रो पाकेको जस्तो देखेर टिपेर चुस्न खोज्यौं । तर, धेरै अमिलो भएर खान सकिएन ।
खाना खाएको अलि समय भएकोले एउटा डाँडामा पुगेर हामीले बोकेको तातो पानी र खाजा खाएर फेरि अगाडि बढ्यौं ।
बाटैमा कर्णालीको पहिलो सरकारी बागबानी केन्द्र भेटिन्छ । भर्खरै खोलेको सडकमुनि केही घरहरू छन् । कुनै समय स्याउ र ओखरका बिरुवा तथा फलमा कर्णालीमा मात्र नभएर देशमै ठूलो प्रख्यात भएको यो बागबानी अहिले जीर्ण र जर्जर देखिन्छ । सधैं यस्तै हो या कार्यालय समय सकिएकाले हो, बागबानी केन्द्र सुनसान छ ।
२०२८ सालमा स्थापना भएको यस बागवानीमा कुनै समय देवबहादुर थापा भन्ने हाकिम थिए रे ! स्थानीयका अनुसार उनी असल र मिहिनेती थिए । उनैको समयमा यो बागबानीबाट हुम्ला लगायत सम्पूर्ण कर्णाली ओखर र स्याउको बिरुवामा आत्मनिर्भर भएको थियो । यस्ता असल र जाँगरिला हाकिमलाई बहुदल आएपछि राजावादी भएकै कारण तत्कालीन कम्युनिष्टहरूले कालोमोसो दलेर गाउँ निकाला गरे रे !
त्यहीं काम गर्ने स्थानीय कर्मचारीका अनुसार देवबहादुर थापा जस्ता हाकिम त्योपछि यहाँ कहिल्यै आएनन् । उनै कर्मचारी भन्छन्- ‘म अझै उनैको पालामा लगाएका स्याउ र ओखरका बोटहरूमा देवबहादुर थापा देख्छु ।’
पछि बागबानी केन्द्रबाट आलु विकास केन्द्र, फेरि आलु विकास केन्द्रबाट बागबानी भएको यो कार्यालय आज पनि देवबहादुर थापालाई कुरिरहेको छ । यस केन्द्रलाई सदुपयोग गर्न सके यसले यहाँका जनता र कृषिलाई पक्कै भलो गथ्र्यो होला । दुर्भाग्य यो मूल्यवान सम्पत्ति क्रमशः खण्डहर बन्दैछ । यसैलाई बीच भागमा चिर्दै अहिले सडक विस्तार भएको छ । यसैको हाताभित्र केही अवैधानिक घरहरू बनेका छन् ।
बागबानीबाट अगाडि जाँदै गर्दा विद्यालयमा अध्ययन गर्ने नानीहरू फोनमा गीत सुन्दै आउँदै थिए । सबैले नयाँनयाँ झोला पनि बोकेका थिए । सोध्दा थाहा भयो- विद्यालयमा झोला बाँड्ने दिन रै’छ । यो त्यही विद्यालय थियो, जहाँ कुनै समयमा वरिपरि कापी कलम किन्न समेत पाइँदैनथ्यो ।
यो क्षेत्रको सबैभन्दा नजिकको बजार जुम्ला थियो । जसको बारेमा विजयध्वज थापाले आफ्नो नियात्रामा चर्चा गरेका छन् । उनले लेखेको ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ भन्ने पुस्तकबाट त्यो बेलाको दार्मा गाउँ, त्यो बेलाको हुम्ला, कर्णालीको दुःख, अभाव र हैरानी चियाउन सकिन्छ ।
नानीले थोरै बिगारेमा फेरि आमाबाबुले त्यसलाई सुधारेर दोहोर्याउन लगाउँदा लाग्यो- सभ्य, आधुनिक बन्ने होडमा तमाम मातृभाषाहरू मर्दैछन् । त्यो चाहे कुनै जनजातीय भाषा हुन् या कर्णालीतिर बोलिने खस भाषाहरू किन नहोस्
पञ्चायतकालमा स्नातकोत्तर तह पूरा गर्न राष्ट्रिय विकास सेवा भनिने कार्यक्रम अन्तर्गत १० महीना गाउँमा गएर विकास निर्माणमा सहभागी हुँदै शिक्षक भएर सेवा गर्नुपर्ने हुन्थ्यो । २०३३ सालताका विद्यार्थी रहेका थापाले आफ्नो प्रयोगात्मक १० महीने कार्य यही क्षेत्रमा गरेका थिए । विद्यालयको छेउमा उभिंदा उनले लेखेको गरीबी, अनिकाल, अभावलाई सम्झिएँ । ती सिस्नोको केही मुन्टा, गिट्ठा, भ्याकुर लगायत खानेकुरा भेट्दा पनि भाग्यमानी मानेका कमजोर अनुहार अनुमान गरें । सबैले फोन बजाउँदै हिंडेको यही समाजको लागि पनि त्यो फरक दुनियाँ हो कि ?
विद्यालय कटेपछि दार्मा ज्युलो देखिन्छ । दार्मा ज्युलो हुम्ला जिल्लाकै धेरै अन्न फल्ने क्षेत्र हो । स्थानीय एक वृद्धका अनुसार पहिले हुम्लाका धनी शाही ठकुरीमध्ये धेरैजसोको ज्युलोमा खेत थियो रे ! हुम्लाभरि जहाँजहाँका ठकुरीहरूको यहाँ जग्गा थियो उनीहरूले स्थानीयलाई कमाउन दिने र स्थानीयले धान बोकेर जग्गाधनीको घरसम्म पुर्याउने चलन रहेछ । तर अहिले भने सेतो चामलको सुलभता तथा बसाइँसराइले गर्दा टाढाका ठकुरीहरूले क्रमशः यहाँको जग्गा बेच्दै आएको पाइयो । हुन त उनै थापाको स्मरण पढ्दा त्यहाँको भोक र दुःख देखेर जोसुकैको आँखा भरिन्छ ।
उनका अनुसार वर्षैभरि कमैलाई खान पुग्थ्यो । ७० प्रतिशत भन्दा धेरै ४/५ महीना भन्दा खान नपुग्ने मानिसहरू थिए । अझ त्योभन्दा कम स्रोत भएका पनि थिए । विद्यालय पढ्ने बालबालिका एक डेढ फिट हिउँ परेको बेला फाटेको टोपीमा हिउँ टिपेर घर लगेर नुन-खोर्सानी मिलाएर मकै भट्मास खाएझैं खाएर आफ्नो भोक मेट्थे रे ! त्यो समयमा कोदोको रोटी कसैले दिंदा उनै थापालाई पनि असनको गुदपाक खाएझैं लाग्थ्यो रे !
श्री महादेव माध्यमिक विद्यालयबाट सडकै सडक २५/३० मिनेट अगाडि गएपछि ओरालो लागियो । यहाँ पनि हिजो जस्तै केही जस्ताका छाना भएका, केही परम्परागत घरहरू देखिन्छन् । तल नीलो पानी सहित नदी बगिरहेको छ । पारि पिप्लाङ स्थानीय सिंहदरबार काखमा राखेर गजक्क बसेको देखिन्छ ।
बाटामा तल खोलातिर चर्न गएका वस्तु र तिनका गोठाला गाउँ उक्लिंदै छन् । साँझ बढ्दै गएपछि खच्चडका समूह बास बस्न थालिसकेछन् । कुनै समय यो हुम्लाको व्यापारिक नाका मध्ये थियो । यही बाटोबाट सिमकोट लगायत हुम्लाका अन्य क्षेत्रबाट मुगु, जुम्ला हुँदै देशको अन्य भागसम्म पुग्न सकिन्थ्यो । अहिले हवाई यातायात तथा कर्णाली राजमार्गको कारण यसको महत्व भने घट्दो छ ।
पिप्लाङ नपुगी, लोती कर्णाली नतरी पनि बास बस्ने केही ठाउँहरू छन् । खच्चरवालाहरू प्रशस्तै बास बसेका भेटिन्छन् । कर्णालीको झोलुङ्गे पुल तर्दा झमक्क साँझ परिसकेको छ । पुल तरेर मधुरो जूनको सहारामा गाउँमा बलेको आगो हेर्दै १५ मिनेट हिंडेपछि हामी पिप्लाङ पुग्यौं । अघि दार्माबाट देखिएको बस्ती अहिले देख्न सकिंदैन । यो वडा पस्ने आडमै ७/८ जना नानीहरू आगो ताप्दै रहेछन् । थोरै आगोको उज्यालोमा हामीलाई देखेपछि हाँस्दै जिस्क्याउन थाले, ‘दाजुहरू कहाँसम्म पुग्न्या हौ ? कोरोना बोकिकन आएका छौ कि ?’
थाकेर हैरान भएका र नयाँ ठाउँ भएकोले हामी नबोली हाँस्दै अगाडि लागेपछि उनीहरू झनै हाँस्न र जिस्क्याउन थाले । कम्तीमा यहाँका चेलीहरूले यति निर्धक्क कुरा गर्दा मनलाई भने खुशी मिल्यो । अलि अगाडि आएपछि होटल खोजेर बसियो ।
जलवायु परिवर्तनले गर्दा अहिले दार्मा, पिप्लाङ लगायत ठाउँको खेतीपाती पनि फेरिएको छ । पहिले स्याउ फल्ने यो ठाउँमा अहिले केरा, आँप लगायत गर्मी ठाउँमा फल्ने वस्तु उत्पादन हुन थालेको छ । हिमाली क्षेत्रमा सिंचाइको राम्रो व्यवस्था नहुँदा अन्न उत्पादनमा हिउँको थप महत्व हुँदोरहेछ । बाक्लो हिउँ परे त्यही हिउँ पग्लेर गहुँ, जौ, उवा लगायत उत्पादन हुने रहेछ । कुराकानी गरिएका किसानका अनुसार ‘पहिले यहाँ तलसम्म हिउँ पर्दथ्यो तर अहिले पर्दैन ।’ यसरी यो क्षेत्रका मानिसको दैनिकी झनै कठिन भएको रहेछ ।
हामी बसेको होटलको श्रीमती स्थानीय कुनै कार्यालयमा सरकारी जागिरे रहिछन् । उनका श्रीमान् सदरमुकाम सिमकोट बसेर संस्थामा काम गर्ने रहेछन् । छोरीलाई शहरमा राखेर निजी स्कूलमा पढाउने गरेकोले बोलीमा प्रष्ट शहरिया भाका र लवज सुनिथ्यो । नानीले थोरै बिगारेमा फेरि आमाबाबुले त्यसलाई सुधारेर दोहोर्याउन लगाउँदा लाग्यो- सभ्य, आधुनिक बन्ने होडमा तमाम मातृभाषाहरू मर्दैछन् । त्यो चाहे कुनै जनजातीय भाषा हुन् या कर्णालीतिर बोलिने खस भाषाहरू किन नहोस् !
पिप्लाङ गाउँपालिकाको केन्द्र भए पनि यहाँ फोन सुविधा र विद्युत् भरपर्दो थिएन, यातायात त झन् छँदै थिएन । यहाँको नजिकको बजार गमगढी थियो भने सदरमुकाम करीब ४० कोस टाढा थियो । घरबेटीले सुल्झाए- फोन गर्नु छ भने राति १२ बजेपछि बिहान ४ बजेसम्म लाग्न सक्छ । आज तुलनात्मक रूपमा आरामदायी ओछ्यान थियो । भोलि कस्तो भेटिन्छ टुङ्गो छैन । दिनभरि थाकेको हुँदा रातिराति उठेर फोन गर्ने लठारोकोे पछाडि लागिएन । पि्रय आफन्त गुड नाइट ।
१० मंसीर २०७७ । पिप्लाङ, हुम्ला
प्रतिक्रिया