स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

स्वर्णजयन्तीमा पञ्चकन्या : भुईंबाट उठेको सफल घराना

SHARE:

२१ मंसिर, काठमाडौं । नेपालमा त्यस्ता धेरै औद्योगिक तथा व्यावसायिक घराना छन्, जसले रातारात पाएको सफलता टिकाउन ठूलो कष्ट भोग्दैछन् । कतिपय घरानाले सफलताका लागि गरेको कडा मिहिनेत भने घाम जस्तै छर्लङ्ग छ । संघर्षको मैदानमा कुनै हतारो विना चुस्त-दुरुस्त र बलियो रूपमा सफल भएको नाम हो- ‘पञ्चकन्या ग्रुप’ ।

नेपालीमा ‘पञ्चकन्या’ लगभग सर्वपरिचित ब्रान्ड र औद्योगिक नाम हो । नेपालमा तुलनात्मक रूपमा स्वच्छ व्यावसायिक घरानाको नाम लिंदा पञ्चकन्या अग्रस्थानमा आउँछ । खुला अर्थतन्त्रको बाटोमा नआउँदैदेखि पञ्चकन्याका उत्पादनहरू बजारमा फैलिसकेका थिए । लाइसेन्स राज रहेको पञ्चायतकालदेखि अहिलेसम्म पनि आफ्ना उत्पादनसँगै ग्रुपको विरासत फैलाउने क्रममै छ, पञ्चकन्या ।

५० वर्ष पुगेको अवसरमा स्वर्णजयन्ती उत्सव मनाउने तयारीमा रहेको पञ्चकन्या ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठ आफैं ९१ वर्षका भइसके । अझै सक्रिय उनी नेपालका त्यस्ता सीमित उद्यमीमध्ये पर्छन्, जसले ग्रामीण क्षेत्रबाट औद्योगिक विकासको जग बसाले अनि आफ्ना सन्ततिलाई पनि निरन्तर त्यही बाटोमा डोहोर्‍याए ।

ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठ

नेवार, त्यसमाथि उद्योग-व्यवसायमा जमेका कारण धेरैले पञ्चकन्या ग्रुपलाई काठमाडौं उपत्यकाबाटै फड्को मारेको घराना ठान्छन् । यो ग्रुपको उठान पूर्वको इलामबाट भएको हो । इलामको फिक्कलबाट फैलिएको औद्योगिक-व्यावसायिक समूह हो, पञ्चकन्या ।

दोलखाबाट इलाम सरेका तेजबहादुर श्रेष्ठ बितेपछि उनका जेठा छोरा प्रेमबहादुरको बाल्यकाल सहज भएन । अरू तीन भाइ र दुई दिदीबहिनीका साथ हुर्किएका प्रेमबहादुरमाथि दायित्वको ठूलो भारी आइपर्‍यो । उनी कलियै उमेरमा लेखनदास बने ।

तर, लेखनदासको जागिरले परिवारको सिंगो परिवारको भोक मेट्न नसकेपछि उनले फिक्कलमा सानो किराना पसल खोले । त्यही नै श्रेष्ठ परिवारको व्यावसायिक यात्राको प्रस्थान विन्दु थियो । किरानापछि उनले स्थानीय उत्पादनहरू आलु र अलैंचीको व्यापारमा हात हाले ।

अनुभवले खारिंदै गएपछि उनले व्यापारमा कपडा पनि जोडे । उनी फिक्कलमा जे माग भइरहेको छ, त्यही सामान ल्याएर बेच्थे । उनले भाइहरू शेरबहादुर, अमरबहादुर र विष्णुबहादुर श्रेष्ठको दह्रो साथ पाएकै थिए ।

माटोबाट उठेको घराना

फिक्कलमा एक तहसम्म व्यावसायिक सफलता पाएपछि श्रेष्ठ परिवार झापाको शनिश्चरेमा बसाइ सर्‍यो । ‘सानो पोखरीमा हालिएको बल्छीमा ठूलो माछा पर्दैन’ भन्दै प्रेमबहादुर श्रेष्ठले फिक्कलबाट हिंड्ने निर्णय लिएका थिए ।

त्यतिबेलासम्म श्रेष्ठ परिवारले किरानाबाट हुने आम्दानी बटुलेर झापामा काठ मिल (समिल) को काम शुरुआत गरिसकेको थियो । बोल-कबोलबाट नेपालका रूख कटान गरेर काठ भारत निर्यात गर्ने क्रम चुलिएको बेला थियो, त्यो ।

समिल र काठ व्यापारबाट राम्रो आम्दानी भइरहेकै बेला श्रेष्ठ परिवारले राइस मिल खोल्यो । त्यो बेला झापामा नेपाल राइस, कृष्ण राइस लगायत ७-८ वटा मिलहरूले सफलता पाइसकेका थिए ।

प्रेमबहादुर श्रेष्ठले पनि २०२८ सालतिर जोखिम मोल्दै पूर्व-पश्चिम राजमार्ग बन्दै गरेको बिर्तामोडमा जग्गा खोजेर राइस मिल खोल्ने निर्णय लिए । साथी सर्कल, आफन्त र परिवारले ठूलो लगानी नगर्न सुझाव दिए पनि उनले भारतको ‘डन्डाकर’ कम्पनीको आधुनिक प्रविधि ‘अटोमेटिक राइस मिल’ भित्र्याए ।

त्यसका लागि श्रेष्ठ परिवारले तत्कालीन नेपाल इण्डष्ट्रियल डेभलपमेन्ट बैंक (एनआईडीसी)बाट १२ लाख ऋण लियो । नेपाल बैंकका महाप्रबन्धक आनन्दराज भण्डारीले उद्योगका लागि निकै विश्वासका साथ सहयोग दिलाए । सबै तयारीपछि राइस मिललाई के भन्ने भनेर पारिवारिक सल्लाह हुँदा फुरेको नाम थियो- पञ्चकन्या ।

ग्रुपका वर्तमान प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ अधिकांशले सोच्नेजस्तो परिवारमा पाँच छोरी भएकोले नभई फिक्कल, आइतबारेको पञ्चकन्या (दुर्गा, सरस्वती, लक्ष्मी, राधा र अन्नपूर्ण) मन्दिरबाट मिलको नाम जुराएको बताउँछन् । पञ्चकन्याको नामबाट प्राप्त लगातारको सफलतालाई निरन्तर यही नामबाट अघि बढाउने क्रम अझै जारी छ ।

पञ्चकन्या ग्रुपले तत्कालीन समयमा जुटको व्यापार पनि थालेको थियो । त्यो बेला झापाका विभिन्न ठाउँमा ७-८ वटा समिल पनि सञ्चालनमा थिए । समिल नै पञ्चकन्याको प्रमुख आयस्रोत थियो ।

विस्तारै सरकारले वन विनाश रोक्ने नीतिहरू ल्याउन थालेपछि काठका टेण्डरहरू घट्न थाले । त्यसपछि पञ्चकन्या समूहले बिजनेस सिफ्ट गर्ने निर्णय लियो ।

त्यो बेला मोरङमा एभरेष्ट आइरन र बाराको परवानीपुरमा हिमाल आइरनले स्टिल उत्पादन गरिरहेका थिए । पञ्चकन्याले पश्चिमको ‘भर्जिनल्यान्ड’ भैरहवामा स्टिल उद्योग स्थापना गर्ने निर्णय लियो । कालान्तरमा पञ्चकन्याको प्रमुख औद्योगिक आधार भैरहवामै तयार भयो । पञ्चकन्याको ५-६ वटा उद्योगमा हजारौंले रोजगारी पाएका छन् ।

ग्रुपका वर्तमान प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ राइस मिलबाट शुरू भएको औद्योगिक यात्रा सबै दाजुभाइ मिलेर अघि बढाएको बताउँछन् । अहिले उनी काठमाडौं बसेर केन्द्रीय र कर्पोरेट कार्यालयसहित ग्रुपको व्यवस्थापन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धी काम गर्छन् भने दाजु ध्रुवकुमार श्रेष्ठ भैरहवास्थित उद्योगहरूको व्यवस्थापनसँग जोडिएर मिहिनेत गर्छन् ।

कान्छा बद्रीकुमार भने निर्माण सम्बद्ध योजनाको कामहरू गर्छन् । प्रेमबहादुरकी छोरी सावित्रीदेवी पनि ‘टीमवर्क’मै छिन् ।

यो परिवारको सफलताको साक्षी रहेका प्रदीप ३८ वर्षको उमेरमै नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष बने । दार्जिलिङमा एसएलसी सरहको तह उत्तीर्ण गरेर काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्न आउँदा अनुमति नपाएका उनी अहिले पञ्चकन्या ग्रुपलाई नेपालका हरेकजसो क्षेत्रमा फैलाउने मूल जिम्मेवारीमा छन् ।

इन्जिनियर बन्ने सपनालाई बिजनेस म्यान बन्ने लक्ष्यमा बदलेर भारतमा ‘बिकम’ सकेपछि नेपालमा फर्किएका  श्रेष्ठ र उनका अरू दाजुभाइले यो ग्रुपलाई बाबुले देखाएको बाटोमै अघि बढाइरहेका छन् । फुटबलर र गल्फर समेत रहेका  श्रेष्ठ ग्रुपको यात्रा सम्झँदा गर्व महशुस गर्छन् ।

‘विकासको सहायक’

प्रदीपको भनाइमा पञ्चकन्या ग्रुपले सधैं आफूलाई देशको विकासको सहायक बनाउन चाहृयो । जुनसुकै सरकार आए पनि विकास-निर्माण अपरिहार्य रहेको भन्दै उनी भन्छन्, ‘विकासका लागि चाहिने आधारभूत चिजहरूलाई आन्तरिक रूपमै उत्पादन गर्ने सोच बोकेर अघि बढेका हौं, हामी अझै पनि त्यही बाटोमा छौं ।’

स्टिल (फलामजन्य उत्पादन ) सहित खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिट सहितका उत्पादनमा पञ्चकन्या ग्रुप संलग्न छ । पञ्चकन्या निर्माण उद्योगको ‘वान विन्डो सोलुसन’ भएको प्रदीपको टिप्पणी छ ।

‘कोही कुनै घर वा संरचना बनाउन चाहन्छ भने गिट्टी बालुवादेखि घरको छतमा हुने पानीट्यांकीसम्म हामी नै दिन्छौं’ उनी भन्छन्, ‘मार्केटिङ टीम, नेटवर्किङ, डिलरसिपका हिसाबले पनि हाम्रो यो प्रयास एक हदसम्म सफल छ ।’

सधैं एकैखालको विरासत मात्रै बोकेर हिंडिरहने पक्षमा भने पञ्चकन्या ग्रुप रहेन । उद्यमलाई अन्य क्षेत्रमा ‘पथान्तरण’ गर्नका लागि समूहले जलविद्युत्मा पनि लगानी गर्‍यो । अहिले यो समूहले बीमा, बैंक जस्ता सेवा उद्योगमा पनि लगानी गरेको छ । कम्पनी विस्तारै व्यापारतर्फ पनि अघि बढेको छ । निर्माण कम्पनी र हाउजिङदेखि मोटरसाइकल र हेभी इक्वीपमेन्टसम्मको व्यापारमा पनि कम्पनीले पाइला चालेको छ । सूचनाप्रविधिको क्षेत्रमा पनि लगानी गर्न थालेको छ ।

‘सबै ठाउँमा हामी मात्रै छैनौं, अन्यसँगको साझेदारीमा पनि अघि बढेका छौं, धेरै ठाउँमा हात हाल्न हुन्न भन्ने आम मान्यता रहे पनि हामीसँग वर्किङ हृयान्डको कमी छैन’ प्रदीप श्रेष्ठ भन्छन्, ‘हामी सबै जना आ-आफ्नो रुचिको क्षेत्रमा केन्द्रित भएर जान सकौं भनेर पनि व्यवसायको विविधीकरणलाई ध्यान दिएका छौं ।’

सकसका बीच सफल

पञ्चकन्याको यो ५० वर्षको यात्रा सुन्दा रोचक लागे पनि, सहज भने थिएन । नेपालमा उद्योग चलाए पनि त्यसको कच्चापदार्थ विदेशबाटै ल्याउनुपर्ने बाध्यताका कारण औद्योगिक यात्रा उतारचढावपूर्ण रहन पुग्यो ।

विशेषगरी एउटा मूल्यमा दिने गरी बजारमा प्रारम्भिक रूपमा प्रतिबद्धता गरिसकेको अवस्थामा कतिपय कच्चा पदार्थमा हुने उच्च दरको मूल्यवृद्धिले कतिपय अवस्थामा ग्रुपका उद्योगहरूले ठूलो सास्ती भोग्नुपरेको श्रेष्ठको सम्झना छ ।

व्यवस्थापनको पक्षबाट जति चुस्त बन्दा पनि अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावका कारण ठूलो घाटा खाएरै उत्पादन बेच्नुपरेको अनुभव उनी सुनाउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा २००-४०० डलरमा पाइरहेको सामान एकाएक ७००-८०० डलरसम्म पुगेको अवस्था पनि रहृयो’ उनी भन्छन्, ‘मूल्यमा आएको उतारचढावले प्रतिबद्धता पूरा गर्न नसक्ने र त्यसले बैंकबाट लिएको ऋण तिर्न समेत सकस पर्ने अवस्था आउँछ, तर अप्ठेरोमा पनि पूर्वप्रतिबद्धताबाट विचलित भएनौं ।’

महँगोमा किनेको माल सस्तोमा बेच्नु परेको कैयन् उदाहरण भएको भन्दै व्यापारमा हुने ‘प्लस’ र ‘माइनस’मा नमात्तिने-नआत्तिने गरी टीमलाई परिचालन गरेको उनी बताउँछन् ।

यदाकदा सरकारले एक्कासी गर्ने कर सम्बद्ध नीतिगत निर्णयले समेत उद्योग टिकाउन असहजता थपेको उनी स्मरण गर्छन् । ‘अहिले स्पन्ज आइरन सम्बन्धी नयाँ कर नीतिले बजार मूल्य अन्तर बढ्ने अवस्था बनेको छ’ उनी भन्छन्, ‘यही अवस्था कायम रहे हामी टिक्न नै सक्दैनौं, सरकारको नीतिका कारण उद्योग मर्नु त दुर्भाग्यको कुरा हो ।’

सरकारले ल्याउने विभेदकारी र अव्यावहारिक नीतिले पनि समस्या भोगिरहनु परेको उनी बताउँछन् । ‘जति समस्या पर्दा पनि पञ्चकन्याले आफ्नो मूल नारा सधैं पहिलो, सधैं अगाडि भुल्दैन’ उनी भन्छन्, ‘गुणस्तरमा सम्झौता नगर्ने हाम्रो मिसन-भिजन हो । पैसा कति कमायौं भन्दा पनि विश्वास कति कमायौं भन्ने कुरालाई हामीले ध्यानमा राख्ने गरेका छौं ।’

ग्रुपको प्रोडक्सनदेखि मार्केटिङसम्मका टीमले ग्राहकको सन्तुष्टिलाई नै प्राथमिकतामा राखेर काम गरेको श्रेष्ठको दाबी छ । ‘गुडबिल मेन्टेन गर्नु निकै गाह्रो काम हो’ उनी भन्छन्, ‘हामी रातारात कमाउने हैन, प्राकृतिक तवरको सफलतामा बढी विश्वास गर्छौं ।’

व्यवसाय एउटा चक्र भएकाले दायित्व पूरा गर्दै आफ्नो स्थान ‘होल्ड’ गर्न सक्नुपर्ने श्रेष्ठको धारणा छ । ग्राहकको विश्वास जित्ने, टीमभित्र विश्वास जगाउने र कर्मचारीको वृत्ति-विकासमा ध्यान दिने पक्षमा सम्झौता नगरेकाले पञ्चकन्याले आफ्नो विरासत बनाउन सकेको श्रेष्ठ बताउँछन् । समूहलाई सफलता दिलाउन सरकार र बैंकको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताए ।

उद्योगकै माया तेस्रो पुस्तासम्म

पञ्चकन्या ग्रुप आफूलाई उद्योग क्षेत्रभित्र ‘बन्धक’ पनि मान्छ । उद्योगमा व्यापारको जसरी ‘आज लगानी-भोलि नाफा’ नहुने कुरा ग्रुपलाई राम्रोसँग ज्ञान छ । सरकारले अव्यावहारिक नीति लिएका कारण उद्योग क्षेत्र धरापमा पर्ने अवस्था देखिएको बेलामा पनि पञ्चकन्याले आफ्नो मूल ध्यान भने उद्योगतर्फ नै लगाइरहने श्रेष्ठ बताउँछन् ।

आयात हुने वस्तुको उत्पादन नेपालमै गर्नुपर्छ भन्ने सोच ग्रुपले शुरूबाटै बनाएको उनले बताए । ‘हाम्रो घरानाका व्यक्तिको रगतमै उद्योग छ, उद्योगको आफ्नै इज्जत छ, उद्योगमा लाभ हुँदैन भने व्यापार पनि गर्नुपर्छ’ उनी भन्छन्, ‘आयात घटाएर देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने हो भने उद्योग नै चाहिन्छ, रोजगारी सिर्जना र बिजुली खपत गर्न पनि उद्योग नै चाहिन्छ ।’

पञ्चकन्या ग्रुप कतिपय उद्योगको ‘पायोनियर’ भएकाले पनि यो क्षेत्रमा आफूहरूको प्रेम झांगिंदै गएको श्रेष्ठ बताउँछन् । देशको आवश्यकता हेरेर पनि उद्योग चलाउने गरिएको भन्दै उनले सरकारले यसलाई सकारात्मक नीति बनाएर सहयोग गर्नुपर्ने बताए ।
श्रेष्ठका अनुसार पञ्चकन्या ग्रुपका कोही पनि सदस्य अहिलेसम्म विदेशमा ‘सेटल’ छैनन् । ‘हाम्रो परिवार नेपाल बनाउने हामी नेपालीले नै हो भन्नेमा प्रष्ट छ’, उनी भन्छन् ।

अहिले ग्रुपका उद्योग व्यवसायहरू सम्हाल्न तेस्रो पुस्ता अघि आइसकेका छन् । तीन दाजुभाइकै छोराहरू विकसित देशमा पुगेर आफ्नो ज्ञान र सीपको दायरा बढाएर नेपाल फर्किएका छन् ।

‘हामी अभिभावक पछाडि बसेर मात्रै स्वतन्त्र छाडिदियौं भने उनीहरू छिटो र सुरक्षित तवरले बलियो जगको यो ग्रुपलाई अघि बढाउन सक्षम छन्’ श्रेष्ठ भन्छन्, ‘सिस्टमभित्र बस्ने, अनुसन्धान गर्ने लगायत पक्षमा तेस्रो पुस्तासँग प्रभावित छु ।’

कहिलेकाहीं सरकारको नीतिहरूमा आउने अस्वाभाविक फेरबदलले भने तेस्रो पुस्तामा आउने ‘निराशा’ ग्रुपको लागि चिन्ताको विषय बन्ने गरेको उनले बताए । आफ्नो व्यवस्थापकीय क्षमताका कारण नभई अरूको नीतिका कारण उद्योग व्यवसाय बिग्रने डर उनीहरूमा देखिने श्रेष्ठ बताउँछन् ।

‘उनीहरूभित्र जुन खालको सोच, शैली र क्षमता छ, त्यसले ग्रुपको भविष्य अझै उज्ज्वल छ भन्नेमा चाहिं हामीलाई सन्देह छैन’, श्रेष्ठ भन्छन् ।फेरि माटोकै बाटो

अहिलेसम्म जे-जति सफलता हात लागेको छ, त्यो अन्तिम हुनुहुँदैन भन्नेमा ग्रुपको टीम एकमत छ । अब सबैथोक आफैंले गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्कन चाहन्छ, पञ्चकन्या ग्रुप । व्यवस्थापकीय कुशलता र अनुभव लिएर ग्रुप जनतामाझ जान चाहिरहेको श्रेष्ठ बताउँछन् । त्यसका लागि आफ्ना कम्पनीको शेयर जनतालाई दिने योजना रहेको उनले बताए ।

‘पञ्चकन्याको ब्रान्डमा जनताको विश्वास छ’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘हाम्रो केही पब्लिक कम्पनी छन्, जसमा जनताको शेयर छ, थप कहिले र कसरी गर्ने भने तेस्रो पुस्ता गृहकार्यमा छ । हामी घरानाको व्यवस्थापकीय विरासत र क्षमता लाभ जनतासम्म बाँड्न चाहन्छौं ।’

पारदर्शिताका साथ देशको लागि उदाहरण हुने काम गरी नै रहने उनी बताउँछन् । जस्तो प्रतिकूलतामा पनि ‘सरेन्डर’ नगर्ने ग्रुपको अठोट रहेको उनले बताए ।

उनका अनुसार, अब ग्रुप आफ्नो विगतलाई थप उज्यालो बनाउने गरी भविष्यको बाटो कोर्ने योजनामा छ । अर्थात् आफू उठेको माटोमा पञ्चकन्या ग्रुप फेरि लटपटिन चाहन्छ । माटोको सुगन्धलाई फैलाउने गरी काम गर्न चाहन्छ ।

प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार विगतमा स्थानीय उत्पादनका आधारमा चल्ने उद्योगहरूबाट उदाएको पञ्चकन्या ग्रुप अहिले अधिकांश विदेशबाट आयात हुने कच्चा पदार्थमा निर्भर छ । अब पुराना अनुभवलाई पुनः एकीकृत गर्दै व्यावसायिक रूपमा अघि बढ्ने सोच पनि बनाएको छ पञ्चकन्याले ।

‘हामी माटोबाट उठेका हौं, फेरि माटोमै फर्किन चाहन्छौं’ श्रेष्ठ भन्छन्, ‘अब स्थानीय उत्पादनमा आधारित उद्योगलाई फेरि अघि बढाउँछौं ।’



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: स्वर्णजयन्तीमा पञ्चकन्या : भुईंबाट उठेको सफल घराना
स्वर्णजयन्तीमा पञ्चकन्या : भुईंबाट उठेको सफल घराना
https://www.onlinekhabar.com/wp-content/uploads/2021/12/Prem-Bahadur-Shrestha.jpg
https://i.ytimg.com/vi/xbZdnLtgIJQ/default.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_90.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_90.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content