बारामा दुई हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गरिने
कलैया , चैत ५ गते । बारामा २ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले देशभर बाट १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ तर बारा जिल्ला को हकमा २ हजार ५ सय २८ जना माग गरिएको छ । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो। साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । म्यादी प्रहरी को फारम जिल्ला प्रहरी कार्यालय बारामा पाउने छ ।
सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन् ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।
प्रतिक्रिया